कावासोतीको बालुवाडाँडामा ६२ लाखको लागतमा भ्यु टावर बन्दै, टावर भन्दा बाटो आवश्यकता


रामकुमार श्रेष्ठ  –




नवलपरासी, २२ मंसिर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ बालुवाडाँडामा ६२ लाखको लागतमा भ्यु टावर निर्माण भईरहेको छ ।

उक्त भ्यू टावर निर्माण भएपछि उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि सहज हुने भएकोले भ्यू टावर निर्माण थालिएको कावासोती नगरपालिका उपमेयर प्रेम शंकर मर्दनियाले बताए ।




३ चरणमा गरी ठेक्का सम्झौता भएको उक्त भ्यु टावर निर्माणका लागि पहिलो चरणमा २८ लाख, दोस्रो चरणमा १९ लाख र अब करिब १५ लाख गरी ६२ लाखको लागतमा निमाृण सम्पन्न हुने गरी तयारीमा रहेको कावासोतीका इन्जिनियर पवन रुपाखेतीले बताए ।

त्यसो त निक्कै महंगो लागतमा भ्यू टावर निर्माण गरिएको भन्दै नगरपालिकाको स्थानीय स्तरमा आलोचना पनि भएको छ । तथापि ५ तलाको उक्त भ्यू टावर ४ तला ढलान भईसकेको र पाँचौ तला मात्र ढलान बाँकी रहेको छ । १८ इन्चको पिल्लर र ५ तले भुकम्प प्रतिरोधी भ्यू टावर भएकोले उक्त टावर निर्माणमा ६२ लाख लागत भेटेको इन्जिनियर रुपाखेतीले बताए ।

करिब ६० घर गुरुङ र मगर समुदायको वस्ती रहेको कावासोती १ बालुवा डाँडा ढोणेमा निर्माणाधिन अवस्थामा रहेको उक्त भ्यू टावर निर्माण सम्पन्न भएपछि उक्त क्षेत्रमा तल्लो क्षेत्रको दृष्यावलोकनका साथै होम स्टे सञ्चालन गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नकान लागि उक्तयुक्त कावासोती नगरपालिकाका उपप्रमुख मर्दनियाको दावी छ ।

उनले भने – पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न उपयुक्त ठाउँ छ । भ्यू टावर निर्माण सम्पन्न भए लगतै नगरपालिकाले नै स्थानीय स्तरमा लगानी गरेर होम स्टे सञ्चालन गर्ने छौं ।

कावासोती १ का वडा अध्यक्ष नारायण पन्तले उक्त क्षेत्रमा भ्यू टावर निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रसस्त सम्भावना रहे पनि बाटो पुर्याउनु पहिलो प्राथमिकता नगरपालिकाले दिनुपर्नेमा जोड दिन्छन् ।

बाटो पहिलो आवश्यकता, उच्च शिक्षा अध्ययनमा समस्या

अधिकांश मानिसहरु विस्तारै सहर र तराई केन्द्रित भएर बसाई सराई क्रम बढेपछि पहाडि क्षेत्रका गाउँ विस्तारै पातलिदै गएको छ ।

पहाडका बासिन्दालाई पहाडमै रोक्नका लागि पर्यटकीय क्षेत्रका विकासका साथै उक्त स्थानमा उत्पादन भएका कृषि उपजलाई बजारसम्म ल्याउन बाटोलाई पहिलो प्राथमिकता दिनु पर्ने वडा अध्यक्ष नारायण पन्तको जोड छ ।

वडाध्यक्ष पन्तका अनुसार यहाँ हिउँदमा आउजाउ सहज भए पनि बर्षाको समय पहिरोले कच्ची बाटो समेत अवरुद्ध हुने गरेको छ जसले गर्दा बर्षाको समय बाटो पुरै बन्द हुने गर्दछ र यहाँका बासिन्दा अर्को गाउँ र अर्को बजारबाट सम्पर्क विच्छेद भए बस्नु पर्ने हुन्छ ।

कावासोती नगरपालिकाका राजमार्गसँग जोडिएको क्षेत्र फलफूल चोकबाट झण्डै १७ किलोमिटर उत्तरतर्फ रहेको बालुवाडाँडा पुग्न अझै ३ किलोमिटर भन्दा बढी बाटो पक्की हुन बाँकी रहेको छ ।

कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले पनि उक्त क्षेत्रमा बाटो पुर्याउनु अत्यावश्यक रहेको स्वीकार गर्दछन् । ‘अब करिब ३ किलोमिटर बाटो पुग्न बाँकी छ अर्को बर्षसम्म हामी बाटो पुर्याउँछौं ।’ – मर्दनियाले भने – ‘त्यसैगरी यहाँ विद्युत पुर्याउनु अत्यावश्यक छ । सोलर बत्ती जोडेका छौं तथापि बालुवा डाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्ने आवश्यक छ ।’

अदुवा, लसुन, बेसार, जौं जस्ता खाद्यबाली यहाँको प्रमुख बाली भएकोले पनि यि कृषि उपजलाई नियमित रुपमा बजार सम्म ल्याउन सडक नै पहिलो प्राथमिकता भएको यहाँका बासिन्दाहरु बताउँदछन् ।

यहाँ स्वास्थ्यको पहुच अझै पुग्न सकेको छैन भने मुलबाट ल्याइएको पानी फिल्टर नगरी सोझै घरघर पाइपबाट पानी पुर्याइएको भए पनि स्वच्छ पानीको लागि साना खानेपानी आयोजना सञ्चालन गर्न आवश्यक देखिन्छ ।

त्यसैगरी आधारभूत तहसम्म विद्यालय सञ्चालन रहेको यहाँका बासिन्दाहरु उच्च शिक्षा तथा मावि तहसम्मको शिक्षा हासिल गर्नका लागि ७ किलोमिटर पर रहेको कावासोती १ विष्णुनगरमा रहेको उच्च माविमा आउनु पर्ने बाध्यता रहेको छ ।

https://www.youtube.com/watch?v=YRbwA6PuwOU

 

 

 



सम्बन्धित
Loading...