विश्वका शक्तिशाली महिलाको सूची सार्वजनिक





एजेन्सी । फोर्ब्सले मंगलबार विश्वभरका सबैभन्दा शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ ।

फोर्ब्सले १७औं पटक विश्वका शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको हो ।




यसवर्षको शक्तिशाली महिलाहरुको सूचीमा जर्मन चान्सलर एन्जेला मर्केल शीर्ष स्थानमा छिन् ।

युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लागार्ड दोस्रो स्थानमा छिन् ।

तेस्रो स्थानमा अमेरिकाको उपराष्ट्रपतिका लागि निर्वाचित भएकी कमला ह्यारिस छिन् ।

फोर्ब्सका अनुसार सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि महिलाहरुले खेलेका भूमिकालाई शक्तिशाली महिलामा छनोटको आधार बनाइएको थियो ।

कोरोना महामारी नियन्त्रणको लागि महत्वपूर्ण भूमिका खेलेका महिलाहरुमा न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डन शक्तिशाली महिलाको सूचीमा ३२ औं स्थानमा छिन् ।

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिया सूचीको ८५ औं स्थानमा छिन् । त्यस्तै ताइवानकी राष्ट्रपति साइ इङ–वेन ३७औं स्थानमा छिन् ।

भारतीय अर्थमन्त्री निर्मला सितारमण सूचीको ४१ औं स्थानमा छिन् भने बिल एण्ड मेलिण्ड गेट्स फउण्डेशनकी संस्थापक मेलिण्डा गेट्स पाँचौं स्थानमा छिन् ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सकी सभामुख नेन्सी पेलोसी सातौं स्थानमा छिन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सूचीको ३९ औं स्थानमा छिन् ।

विश्वकी सबैभन्दा धनी महिला म्याकेन्जी स्कट सूचीको ६७ औं स्थानमा छिन् ।

फोर्ब्सको यस वर्षको शक्तिशाली एकसय महिलाहरुको सूचीमा विश्वका ३० मुलुकका महिलाहरु अटाएका छन् ।

जसमा १० महिलाहरु राष्ट्र प्रमुख छन्, ३८ महिलाहरु विभिन्न कम्पनीहरुको सीईओ छन् र पाँचजना मनोरञ्जन क्षेत्रका महिला छन् ।

त्यस्तै यस वर्ष यो सूचीमा १७ नयाँ महिलाहरुको समावेश भएका छन् ।




सम्बन्धित
Loading...