मध्यविन्दु अस्पतालको चरम लापरवाही, कोरोनाका जटिल विरामीलाई अस्पतालले घर पठाएपछि घरमै निधन
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालले चरम लापरवाही गरेको पाइएको छ । कोरोना संक्रमण भएर जटिल अवस्थामा रहेका विरामीलाई उपचार पुरा नगरी घर पठाइएको तथ्य बाहिर आएको छ ।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ४ शंखदेव निवासी ७५ बर्षीया महिलालाई उपचार पुरा नगरी घर पठाएपछि उनको घरमै निधन भएको छ ।
हुप्सेकोट स्वास्थ्य शाखाका प्रमुख कृष्ण प्रसाद सापकोटाले मध्यविन्दु अस्पतालमा उपचाररत ति महिला मंसिर १६ गते कोरोना पोजटिभ देखिएको थियो । त्यसको ८ दिन पछि उनको निधन भएको हो ।
सापकोटाले अस्पतालबाट मंगलबार डिस्चार्ज गरिएको र बुधबार घरमै निधन भएको बताए । स्रोतका अनुसार ति महिलाको स्वास्थ्य अवस्था थप जटिल भईरहेको अवस्थामा घर लगिएको थियो ।
श्वासप्रश्वास सम्बन्धी समस्याबाट लामो समयदेखि पिडित ति वृद्धामा मंसिर १६ गते मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारको क्रममा कोरोना पुष्टि भएको थियो ।
हुप्सेकोट गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद सापकोटाले दिएको जानकारी अनुसार आफन्तहरुले कोरोना संक्रमित वृद्धाको अवस्था गम्भिर बनेपछि अस्पतालबाट मंगलबार नै घरमा लगेकोमा आज घरमै उनको ज्यान गएको हो । उनको विहिवार परिवारले अन्तिम दाहसंस्कार गर्ने जनाएको छ । हुप्सेकोट गाउँपालिकामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।
पूर्वी नवलपरासीमा यो सहित कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।
नवलपुरमा अहिले सक्रिय संक्रमितको संख्या १८९ रहेको छ ।
