एक महिनाअघि सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन पाएनन्
हरि शर्मा –
परासी, २५ मंसिर ः पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा महिना दिनअघि सरुवा भई गएका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमलाई अहिलेसम्म हाजिर गराईएको छैन । पुराना प्रमुख प्रशासकीय अधिकृत दिनेश कहाँर गाउँपालिकाबाट जान नमानेपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन नपाएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाई पश्चिम नवलपरासीमा कार्यरत शाखा अधिकृत (विद्यालय निरीक्षक) कहाँरलाई२०७७ साउन १५ गते गाउँपालिकामा प्रमुख प्रशासकीयका रुपमा कामकाजमा खटाइएको थियो । कहाँरलाई ४ महिना नबित्दै कात्तिक १८ गते पुन ः मन्त्रालयले शिक्षा समन्वय इकाईमै पदस्थापन गरी पठाइएको छ । उनको ठाउँमा मन्त्रालयले कात्तिक १८ गते नै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमलाई कामकाजका लागि खटाइएको हो ।
प्रमुख प्रशासकीय अधिकृत कहाँरको गाउँपालिका नछाड्ने अडान र गाउँपालिका अध्यक्षको बेवास्ताका कारण नयाँ प्रमुख प्रशासकीय अधिकृत गौतम हाजिर हुन नपाएको एक कर्मचारीले बताए । हाजिर नगराइएका गौतम जिल्ला प्रशासन कार्यालयकै काम गर्दै आएका छन् ।
कहाँरले भने आफूलाई गाउँपालिकाले रमाना नदिएकाले पदस्थापन भएको कार्यालयमा जान नपाएको बताए । रमाना पत्र गाउँपालिकाका अध्यक्षले नभई कार्यालयका कुनै अधिकृत वा अधिकृत नभए सरुवा भएका व्यक्ति आफैले पनि सही गरेर लैजान मिल्ने एक अधिकृतले बताए । गाउँपालिकामै बस्न चाहेका कहाँरले पदस्थापन थमौतीका लागि दौडधुप गरेको बताइएको छ ।
यता गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतले आफूसँग सम्पर्क नगरे र सम्पर्क गर्ने बित्तिकै हाजिर गराउने गुप्ताले बताए ।
यता निजामति सेवा ऐन तथा नियमावलीअनुसार जुन सेवा÷समूहका लागि दरबन्दी हो सोही सेवाको हुनुपर्ने प्रावधान अनुसार शिक्षा सेवामा कार्यरत कहाँरलाई गाउँपालिका खटाइनु नै मन्त्रालयको त्रुटि रहेको एक अधिकृतले बताएका छन् ।
