नवलपुरका कुन कुन बालुवा प्रसोधन उद्योग शिल भए ?


रामकुमार श्रेष्ठ –



नवलपरासी, २७ मंसिर । पूर्वी नवलपरासीको रित पुरा नगरी दर्ता भएका १४ वटा बालुवा प्रसोधन उद्योग शिल गरिएको छ । कम्पनी रजिष्टारको कार्यालयमा मात्र दर्ता गर्ने, साना तथा घरेलु उद्योगमा दर्ता नगर्ने, स्थानीय पालिकाको इजाजत नलिने गरेको १४ वटा बालुवा प्रसोधन उद्योग शिल गरिएको हो जुन उद्योगहरु बालुवा प्रसोधन उद्योग भनेर कुनै एक ठाउँमा दर्ता गरिए पनि क्रसर उद्योग सरह सञ्चालनमा समेत रहेका थिए ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका भित्र विना दर्ता सञ्चालनमा रहेका १२ वटा बालुवा प्रशोधन केन्द्र शिल भएको छ ।
विहीबार रातिसम्म अनुगमनमा रहेको टोलीले विनयी त्रिवेणीका १२ वटा बालुवा प्रसोधन केन्द्र भनेर सञ्चालनमा ल्याइएको क्रसर उद्योगहरुमा शिल गरेको हो । यस अघि हुप्सेकोटको देउराली बालुवा प्रसोधन तथा निर्माण सामाग्री उद्योग र कावासोतीको भोलेबाबा बालुवा प्रसोधन उद्योगमा शिल गरिएको थियो ।




नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा रहेको महाविर बालुवा प्रसोधन उद्योग, एम के नेचुरल वासिङ्ग प्लान्ट, जय गुरु गणेश कन्ट्रक्सन वास प्लान्ट, ज्यामिरे बालुवा प्रसोधन प्रालि शिल गरिएको छ । त्यसैगरी नमोबुद्ध सप्लायर्स एण्ड स्यान्ट प्रोसेसिङ्ग प्रालि, विनयी सर्दी कन्ट्रक्सन एण्ड गिटी बालुवा प्रसोधन प्रालि, दृष्टि कन्ट्रक्सन एण्ड गिटी बालुवा प्रसोधन प्रालि, एस जी बालुवा प्रसोधन केन्द्र, सुन टाँडी बालुवा प्रसोधन केन्द्र, विन्धबासिनी बालुवा प्रसोधन तथा निर्माण प्रालि, भैरव बाबा प्रसोधन उद्योग प्रालि र विनयी बालुवा प्रसोधन शिल गरिएको जिल्ला प्रशासन कार्यालय नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी मनबहादुर थापाले बताए ।

जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, आन्तरिक राजश्व कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, विद्युत कार्यालय, साना तथा घरेलु उद्योग कार्यालय लगायतको टोलीले संयुक्त रुपमा अनुगमन गरेको हो । अनुगमनको क्रममा १२ वटा क्रसर उद्योग र २४ वटा बालुवा प्रसोधन उद्योग दर्ता भए सञ्चालनमा रहेका र १४ वटा रित पुरा गरेर दर्ता नभएको पाइएकोले सहायक प्रमुख जिल्ला अधिकारी मनबहादुर थापाले बताए ।

अनुगमन टोलीले दर्ता भएर सञ्चालनमा रहेको क्रसर उद्योग तथा बालुवा प्रसोधन उद्योगहरु मापदण्ड अनुसार सञ्चालन रहे नरहेको, भ्याट विल नियमित काटे नकाटेको, नक्कली विल काटे नकाटेको समेत अनुगमन गरिएको छ ।

उद्योगमा स्टक रहेको नदीजन्य सामग्री स्टक प्रमाणित गर्न सम्बन्धित पालिका मार्फत पत्र समेत पठाइएको छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी मन माया पंगेनीले अनुगमनका क्रममा उद्योगहरुले धेरै कुराहरु पालना नगरेको पाइएको बताए । उनले मुख्य गरेर कर छली नै गरेको समेत भेटिएको बताए ।

 



सम्बन्धित
Loading...