नवलपुरको सामुदायिक बनमा कांग्रेसको स्वघोषणा ! असहमति जनाउँदै बहुमत उपभोक्ताको हस्ताक्षर




नवलपुर। नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका ११ कुसुण्डेको सामुदायिक बनमा विवादकाबीच नेपाली कांग्रेसले विजयी भएको स्वघोषणा गरेको छ ।

शिक्षा, स्वास्थ्यदेखि बन, खानेपानी तथा सामुदायिक संघ संस्थाहरुमा राजनीतिक दलहरु हावी हुँदै गरहेकाबेला अरुणखोलाको जनजागरण सामुदायिक बन उपभोक्ता समूहमा नेपाली कांग्रेस समूहले आफू निर्वाचित भएको स्वघोषणा गरेको छ ।




यहि मंसिर २० गते उक्त सामुदायिक बनको ८ औं अधिवेशनमा मुख्यतः नेपाली कांग्रेस र सत्तारुढ नेकपा समूहबीच दलीय भागबण्डामा रस्साकस्सी चलेको थियो ।

दुबै पक्षबीच सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । मतदानबाटै नयाँ समिति चयन गर्ने प्रक्रिया शुरु भएपछि संघर्ष झनै चुलियो ।

निर्वाचन प्रक्रिया अन्तर्गत उम्मेदवार मनोनयन दर्तासम्म आइपुग्दा एउटा समूहले अर्को समूहको उम्मेदवारलाई बेपत्ता बनाउनेसम्मको काम भयो ।

यस्तो अवस्थामा उपभोक्ताले सहज रुपमा मतदान गर्ने वातावरण नबन्ने भन्दै आफ्नो समूह निर्वाचन प्रक्रिया रोक्न माग गर्दै बाहिरिएको नेकपा समूहबाट अध्यक्षका प्रत्यासी इमानसिंह बस्नेतले बताए ।

नेकपाको समूहमा उम्मेदवार बनेका जीतबहादुर कुमाललाई नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष चन्द्रबहादुर दरैका छोरा जनक दरैले उम्मेदवार मनोनयन दर्ता अवधिभर बेपत्ता बनाएको बस्नेतले बताए । तर निर्वाचित भनिएको कांग्रेस समूहले भने निर्वाचन प्रक्रियाबाटै बाहिरिएकाले आफूहरु निर्विरोध भएको दाबी गर्दै आएका छन् ।

सहमतिमा जान पनि नमानेको र चुनावमा पनि जान नमानेपछि निर्वाचन मण्डलले आफूलाई अध्यक्षमा निर्विरोध घोषणा गरेको कांग्रेस समूहका अध्यक्षका प्रत्यासी ज्ञानबहादुर दरैले दाबी गरे ।

दुबै पक्षबीच सहमति नजुटेपछि निर्वाचन प्रक्रियामा भाग नलिएर एउटा समूह बाहिरिएपछि अध्यक्ष मण्डलले घोषणा गरेको कांग्रेस समूहबाटै कोषाध्यक्षमा निर्वाचित भनिएका प्रकाश ढकालले उल्लेख छ ।

आफ्नो उम्मेदवारलाई उम्मेदवार मनोनयन दर्ता गर्नै नदिएर अवरोध र्सिजना गरेको भन्दै वन उपभोक्ता समूहका एउटा ठूलै हिस्सा बिरोध गर्दै आएको थियो । विवाद चर्किँदै जाँदा निर्वाचन मण्डलका सदस्य कृष्ण पाण्डेले पनि निर्वाचन मण्डलबाट बाहिरिए । निर्वाचन मण्डलकै सदस्य बाहिरिए पनि निर्वाचन मण्डलका अध्यक्ष सूर्यप्रसाद भण्डारीले निर्विरोध घोषणा गरी प्रकाशित गरिदिए ।

निर्वाचनमा भाग नलिनेबारे भनेर निर्वाचन मण्डललाई निवेदन दिएका नेकपा समूहलाई पटक पटक बोलाउँदा पनि नआएकाले रित बमोजिम आफूले अन्तिम नामावली प्रकाशित गरेको र मंसिर २७ गते निर्विरोध निर्वाचित घोषणा गरिएको निर्वाचन मण्डलका अध्यक्ष भण्डारीले दाबी गरे ।

सहमतिको प्रयास गरिए पनि विगतदेखि नै दलीय भागबण्डा हुने गरेको स्वीकार्दै रित बमोजिम निर्विरोध घोषणा गरिएकाले आफूले पद हस्तान्तरण गरिसकेको निवर्तमान अध्यक्ष विमला सापकोटाले बताइन् । सापकोटा यसअघि दुई कार्यकाल कांग्रेस कांग्रेस समूहको तर्फबाट नेतृत्वमा रहेकी थिइन् ।

आफूहरुलाई उम्मेदवार मनोयन गर्नै नदिएर घोषणा गरिएको निर्वाचन आफूहरुलाई स्वीकार्य नभएको नेकपा समूहले बताउँदै आएका छन् । ३ सय ७९ उपभोक्ता सदस्य रहेको जनजागरण सामुदायिक बनमा बहुमत उपभोक्ताको हस्ताक्षर बुधबार डिभिजन बन कार्यालय नवलपुरमा बुझाइएको छ ।

निर्वाचन मण्डलका एक सदस्य बाहिरिएपछि पनि सहमति नजुटाइ एकपक्षीय निर्विरोध नयाँ कार्यसमितिलाई बहुमत सदस्यले अस्वीकार गर्दै आएका छन् । यसले गर्दा बन समितिको कार्यसञ्चालन मात्र होइन, बन संरक्षणमा गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।



सम्बन्धित
Loading...