तमसरीया खानेपानीमा लागेको ताला खुल्यो
चोरमारा । तमसरीया तेस्रो साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा पुस १ गते उपभोक्ताहरुले लागाएको ताला खुलेको छ । मध्यविन्दु नगरपालिकामा नगर प्रमुख चन्द्र बहादुर राना सहित नगरका जनप्रतिनिधि, संस्थाको कार्यसमिति र आन्दोलनरत उपभोक्ताहरु बिच भएको छलफलबाट पुस २१ गते अधिवेशन गर्ने सहमति पछि ताला खुलेको हो ।
विद्यान अनुसार तत्काल अधिवेशनको माग गर्दै उपभोक्ताहरुले पुस १ गते संस्थाको प्रशासनिक भवनमा तालाबन्दी गरेका थिए । संस्थाले नियमित रुपमा हुनुपर्ने मिटर रिडिङ्ग नगरी २०७७ साउन देखि मंसिर सम्मको पानीको महशुलको बिल एकमुष्ठ उपभोक्ताहरु कहाँ पठाएपछि आन्दोलित उपभोक्ताहरुले मुल्य समायोजन र विद्यान अनुसार तत्काल अधिवेशनको माग गर्दै संस्थामा तालाबन्दी गरेका थिए ।
https://www.youtube.com/watch?v=c0qsClktVbc&pbjreload=101
नगरपालिकामा भएको तिन पक्ष बिचको बैठकबाट पुस २१ गते संस्थाको अधिवेशनको गर्ने निर्णय सहित निर्वाचन अधिकृत तोकिएपछि उपभोक्ताहरुले ताला खोलेको बैठकमा सहभागी संस्थाका उपभोक्ता मध्यविन्दु–९ का हुमनाथ पाण्डेले जानकारी दिनुभयो ।
बैठकले मध्यविन्दु नगरपालिकाका शाखा अधिकृत सन्देश लामिछानेलाई निर्वाचन अधिकृतको रुपमा मनोनित गरेको छ । बैठकमा पानीको महशुलको बिषयमा अधिवेशनपछि बन्ने नयाँ समितिले निर्णय र कार्यगर्ने गरी भद्र सहमति गरेको बैठकमा सहभागि मध्यविन्दु–७ का उपभोक्ता कृष्ण गैरेले बताउनुभयो । यस बिषयमा लिखित निर्णय भने भएको छैन ।
संस्थाका अध्यक्ष राजु पाण्डेको अध्यक्षतामा मध्यविन्दु नगरप्रमुख चन्द्र बहादुर राना सहित, संस्थाको कार्य क्षेत्र मध्यविन्दु–७ का वडाअध्यक्ष अमृत ज्ञवाली, मध्यविन्दु–८ का वडा अध्यक्ष परशुराम महत्तो, मध्यविन्दु–९ का वडा अध्यक्ष लक्ष्मी प्रसाद ज्ञावाली सहित संस्थाका कार्यसमिति सदस्यहरु, उपभोक्ताहरुको सहभागिता रहेको थियो ।
बैठकमा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख रानाले विद्यान अनुसार यो समितिको कार्यकाल सकिएको लामो समय भएको भन्दै भएको निर्णय बमोजिम पुस २१ गते नै अधिवेशन गर्नको लागि कार्यसमितिलाई निर्देशन दिदै सो समयमा निर्वाचन नभए नगरपालिकाले संस्थाको बिषयमा थप कदम चाल्ने चेतावनी दिनु भएको बैठकमा सहभागी एक सदस्यले बताउनुभयो ।
https://www.youtube.com/watch?v=xiwee9gFtkc