संसद विघटन सिफारिसको चौतर्फी विरोध


संसद विघटन सिफारिसको चौतर्फी विरोध भएको छ। सत्तारुढ दलकौ नेताहरुका साथै नेपाली काँग्रेस लगायतका दलहरुले यसको विरोध गरेका छन्।



संसद विघटनको कदम अविवेकी, लागू हुन दिँदैनौँ : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले संसद विघटन असंवैधानिक भन्दै यसलाई लागू हुन नदिने बताएका छन् ।

‘प्रधानमन्त्रीको यो असंवैधानिक कदम हो, यसलाई लागू हुन दिँदैनौँ,’ उनले भने, ‘यो अलोकतान्त्रिक मात्र होइन, अविवेकी कदम पनि हो ।’

यसअघि आइतबार विहान बालुवाटारमा बसेको आकस्मिक बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको सिफारिस राष्ट्रपतिसमक्ष पठाउने निर्णय भएको सुनाएका थिए ।

प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सहकार्य गर्न डा. भट्टराईको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेको कदमलाई जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले असंवैधानिक कदमको संज्ञा दिएका छन् ।

उनले यस कदमको विरुद्ध सहकार्यका निम्ति सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुलाई आह्वान पनि गरेका छन् ।

‘नेपालको शासकीय स्वरुपमा परिवर्तन गर्नुपर्छ र त्यसको निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको व्यवस्था हुनुपर्छ हाम्रो र निजीरुपमा मेरो निरन्तरको प्रयत्न रहँदै आएको छ, विचार रहँदै आएको छ,’ आइतबार बिहान एक भिडियो सन्देश दिँदै उनले भनेका छन् ।

‘अहिलेको प्रधानमन्त्रीको कदमले नेपालको शासकीय प्रणालीमा रहेको त्रुटि र त्यसलाई सच्याउनुपर्ने कुरालाई नै पुष्टि गरेको छ,’ उनले भिडियो सन्देशमा भनेका छन्, ‘यस्तो अवस्थामा म सबै राजनीतिक दलहरुलाई, सचेत नागरिकहरुलाई नेपालको शासकीय स्वरुपमा सुधारका निम्ति आवाज उठाउन आह्वान गर्दछु ।’

यस्तो छ भिडियो

संसद विघटनको कांग्रेसले प्रतिवाद गर्छ- प्रवक्ता शर्मा

काठमाडौँ- प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको नेपाली कांग्रेसले प्रतिवाद गर्ने भएको छ ।

‘ओलीको कदम अधिनायकवादी आकांक्षको अन्तिम प्रयत्न हो । कांग्रेसले यसलाई असफल बनाउँछ,’ शर्माले भने, ‘लोकतन्त्र र संविधान रक्षाका लागि हामी सबै दलहरुसँग अपिल पनि गर्छौँ ।’

उनले जनताको कोरोनाको महामारीमा फसेका बेला भएका सरकारी हर्कत अक्षम्य भएको समेत बताएका छन् ।

‘कोरोनाले जनता मरेका बेला रातो झण्डा फरफरउँदै जाने रहर कुनै पनि अधिनायकवाद नै हो,’ उनले भने, ‘लोकतन्त्रमा हुँदैन । कांग्रेसले यसको प्रतिरोध गर्छ ।’

राष्ट्रपतिले नसच्याए सर्वोच्च अदालतले सच्याउन सक्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटनको निर्णय लिएका छन् । यो कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नसच्याए गल्ती सच्याउने ठाउँ सर्वोच्च अदालत रहेको कानुनविदहरु बताउँछन् ।

पूर्वसभामुख ओनसरी घर्ती भन्छिन्, ‘प्रधानमन्त्रीले चालेको यो कदम असंवैधानिक हो, यसलाई राष्ट्रपतिले सच्याउनुपर्छ, सच्याउनुहुनेछ भन्ने विश्वास लिएकी छु ।’
तर, पूर्वउपसभामुख घर्तीले राष्ट्रपतिबाट सच्याउने कदम सच्याउने विश्वास व्यक्त गरे पनि शनिबार राति अबेरसम्म राष्ट्रपति र प्रधानमन्त्रीले सल्लाह गरुेपछि यो कदम चाहिएको हुनाले राष्ट्रपतिबाट सच्चिने सम्भावना रहेन ।

सरकारकै मन्त्री भन्छन् – विघटनको प्रस्ताव दुर्भाग्यपूर्ण

नेकपाकै सांसद एवम् मन्त्री हृदयेश त्रिपाठीले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्।

उनले मन्त्रिपरिषद्को सिफारिस संवैधानिक भए नभएको अध्ययन गर्नुपर्ने बताए।

‘म मन्त्रिपरिषद् बैठकमा पुग्नै लाग्दा सकियो’, त्रिपाठीले भने, ‘यो निर्णय दुर्भाग्यपूर्ण हो।’

संसद विघटन प्रति कांग्रेस गण्डकीको भत्र्सना

नेपाली कांग्रेस संसदीय दल गण्डकीले प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट संसद विघटनको सिफारिस गर्नु अप्रजातान्तिक कदम भन्दै भत्र्सना गरेको छ ।

संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले यो कदम अप्रजातान्तिक र देशलाई पुनः अराजकतातिर धकेल्ने प्रयास भएको बताए । ‘देशले एउटा गति लिईरहेको थियो ।

संसद विघटनका नाममा प्रधानमन्त्रीले अस्थिरता निम्त्याउने प्रयास गर्नुभो,’ उनले भने, ‘यसको घोर भत्र्सना गर्दछु ।’ आइतबार विहान आकस्मिक बैठक बसेर प्रधानमन्त्रीले संसद विघटनको प्रश्ताव पठाएका छन् । यसको चौतर्फी विरोध भैरहेको छ ।

ओलीले संसद विघटन गर्न पाउनुहुन्न : माधव नेपाल

५ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक एवं लोकतन्त्रविरोधी बताएका छन् ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद भंग गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नेता नेपालले अनलाइनखबरसँग भने, संसद विघटन गर्न उहाँले पाउनुहुन्न । यो पूरै असंवैधासनिक कदम हो । उहाँ पार्टीभित्र पनि अल्पमतमा हुनुहुन्छ ।


सम्बन्धित
Loading...