कोभिडका कारण पत्रकारहरु विस्थापित हुनु परेको गुनासो
पूर्वी नवलपरासीका पत्रकारहरुले कोभिड १९ का कारण नवलपुरका पत्रकारहरु विस्थापित हुनु परेको गुनासो गरेको छन् ।
प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ नवलपुरको समन्वयमा भएको पत्रकार आचार संहिता र कोभिड १९ ले मिडियामा पारेको प्रभाव विषयक अन्तरक्रियामा बोल्दै नवलपुरका पत्रकारहरुले यस्तो गुनासो गरेका हुन् ।
त्यसैगरी नवलपुरका सञ्चारगृहका सञ्चालकहरुले कोभिड १९ का कारण नवलपुरका सञ्चारगृहहरु बन्द हुने अवस्थामा पुग्दासम्म पनि स्थानीय, प्रदेश र संघीय सरकार कुनै पनि सरकारले यसतर्फ ध्यान नदिएको गुनासो गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघसँग सधैं पत्रकारको हकहितको पक्षमा वकालत गर्नेमा जोड दिए ।
कार्यक्रममा प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झपेन्द्र भुसालले पत्रकार आचारसंहिताको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश कोषाध्यक्ष दीपक भट्टराई, प्रेस युनियनका केन्द्रिय सचिव केवि राना, क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठ लगायतले धारणा राखेका थिए ।
कार्यक्रम होमराज रानाभाटको अध्यक्षतामा भएको थियो ।
