भन्सार छली नियन्त्रणमा प्रहरीको सक्रियता बढ्यो
नवलपुर । नवलपुर प्रहरीले पछिल्लो समय चोरी–छली नियन्त्रणमा आफ्नो सक्रियता देखाएको छ ।
राजमार्गमा हुने नियमित चेकजाँचका क्रममा पछिल्लो समय भारतवाट भन्सार छली अबैध रुपमा नेपाल भित्राईने मालसमान समात्न सफल भएको छ ।
यसैबीच, आज बिहीवार बिहानको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसमा चेकजाँच गर्दा प्रहरीले गरेको जिन्सी मुल्यांकन अनुसार ३ लाख २५ हजार ८ सय रुपैंया बराबरको कपडा बरामद गरेको छ ।
पुर्व–पश्चिम राजमार्ग अन्तर्गत कावासोती ८ स्थित खरकट्टा जंगलमा ना ३ ख ४१६१ नं को बसबाट जफत गरिएका कपडा आवश्यक कारवाहीका लागि पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालय चलान गरेको छ ।
बरामद भएको कपडाको परिमाण १ सय ४४ रोलमा रहेको ५ सय ७६ मिटर सुट–पाईण्ट र ५ सय १० पीस महिलाले लगाउने कुर्ता–सुरुवालको कपडा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
