गण्डकी प्रदेश कमिटीमा प्रचण्ड–माधव समुहको वहुमत
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीमा प्रचण्ड–माधव समुहको वहुमत देखिएको छ । प्रदेश कमिटीको वहुमत सदस्य सहभागी वैठकले प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको संसद विघटनको भत्र्सना गरेको छ । प्रदेश राजधानी पोखरामा शनिवार भएको प्रदेश कमिटीको वैठकले पार्टी विरोधी गतिविधि गर्ने र संवैधानिक कु गरी संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमले मुलुक संकटमा गएको भन्दै त्यसको विरुद्ध आन्दोलन चर्काउने निर्णय पनि गरेको छ ।
प्रदेश कमिटी अध्यक्ष हितराज पाँण्डेको अध्यक्षतामा भएको वैठकले पुस १२ गते प्रदेशका ११ वटै जिल्ला सदरमुकाममा पार्टीको अगुवा जिल्ला भेला गर्ने, १४ गते सवै सदरमुकाममा संविधान कू का विरोधमा प्रदर्शन गर्ने तथा पुस १६ गते सवै पालिकास्तरीय भेला गर्ने निर्णय गरेको छ । वैठकमा भूगोलबाट प्रतिनिधित्व गर्ने ११० जना प्रदेश कमिटीका सदस्यहरुको सहभागिता रहेको अध्यक्ष पाँण्डेले वताए । गण्डकी प्रदेश कमिटीमा २१६ सदस्यले भूगोलबाट प्रतिनिधित्व गर्दछन । वैठकमा प्रचण्ड माधव समुहका केही सदस्यहरु काम विशेषले वैठकमा सहभागी हुन नसकेपनि नेकपाको संस्थापन समुह (प्रचण्ड-माधव) मा रहेको दावी गरेका छन् ।