आन्दोलनमा आएका उखु किसानको हृदयाघातबाट मृत्यु





उखु बेचेको बक्यौता उठाउन आन्दोलनका लागि काठमाडौं आएका सर्लाही रामनगरका किसान नारायणभगत यादवको मृत्यु भएको छ ।

आन्दोलनरत उखु किसानहरूका संरक्षक राकेश मिश्रका अनुसार मंगलबार बिहान उपचारका क्रममा उनको मृत्यु भएको हो । उनले सर्लाहीको अन्नपूर्ण सुगर मिलबाट १५ लाख रुपैयाँभन्दा बढी बक्यौता लिन बाँकी थियो । यसपटक पैसा हातमा परेपछि मात्र आन्दोलन फिर्ता गर्ने मनसाय लिएर किसानहरू काठमाडौंकेन्द्रित आन्दोलनका लागि आएका थिए ।




तर, २१ दिनभित्र सबै रकम भुक्तानी गर्ने सम्झाैता गरी किसानले आन्दोलन स्थगित गरेको सुने पनि यादव चिन्तित थिए । उनले बेलुकातिर आफन्त र किसान साथीभाइसँग आन्दोलन स्थगित गरेर पैसा पाउने आस कम रहेको बताएका थिए ।

यद्यपि, आन्दोलनको बीचमा उनले दुई लाख रुपैयाँ आफ्नो खातामा आएको बताएका थिए । मिश्रका अनुसार आइतबार दिउँसो माइतीघरस्थित आन्दोलन स्थलमै उनले दुई लाख रुपैयाँ खातामा आएको भन्दै खुसी व्यक्त गरेका थिए । ‘दुई लाख चिनी मिलले दिएको छ, अझै १५ लाखजति पैसा पाउन बाँकी छ । त्यो पैसा पनि नपाएसम्म आन्दोलन गर्नुपर्छ भनेर उहाँ (यादव) उत्साहित हुनुहुन्थ्यो,’ मिश्रले भने, ‘तर, आज बिहान दुःखद निधन भएको छ ।’

यादवको मूल पेसा नै उखु खेती हो । उनले चार–पाँच वर्षदेखि मिललाई उखु दिए पनि त्यसबापतको पैसा नपाउँदा मानसिक चिन्तामा थिए । गाउँघरमा चर्को ब्याजमा उनले उखुखेती लगाउन र घर–व्यवहार चलाउन ऋण लिएका थिए । यसपटक काठमाडौंकेन्द्रित आन्दोलनबाट पैसा आएपछि ऋण तिर्ने उनको योजना थियो ।




सम्बन्धित
Loading...