देवचुलीका सरोकारवालाको गुनासो, शिक्षामा कम बजेट विनियोजन
नवलपरासी, १९ पुस । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले शिक्षा क्षेत्रको बजेट विनियोजनदेखि दरबन्दी मिलानमा विभेद गरेको सरोकारवालाहरुले आरोप लगाएका छन् ।
आइतबार देवचुली नगरपालिकाका सामुदायिक विद्यालयहरुको विद्यालय व्यवस्थापन समितिहरुको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र देवचुली नगरपालिकाका जनप्रतिनिधिहरुको सहभागितामा भएको अन्तरक्रियामा सहभागीहरुले नगरपालिकाले पहुँच र चिनेजानेका आधारमा विद्यालय क्षेत्रमा बजेट विनियोजन गर्दा समेत विभेद गरेको आरोप लगाए ।
सहभागीहरुले स्थानीय सरकारले शिक्षा क्षेत्रमा प्रयाप्त बजेट विनियोजन नगरेर भौतिकपूर्वाधार विकासमा मात्र जोड दिएको समेत आरोप लगाएका थिए ।
कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले शैक्षिक क्षेत्रमा राजनीतिक खिचातानीले गर्दा शैक्षिक क्षेत्रमा सोंचेजस्तो प्रगति नभएको बताए ।
उनले देवचुली नगरपालिका शिक्षा गुणस्तर सुधार र शिक्षा क्षेत्रको भौतिक स्तर उन्नतिका लागि चिन्तित रहेकोमा जोड दिएका थिए ।
उनले देवचुली नगरपालिकामा शिक्षाको विकासका लागि जनप्रतिनिधीहरु, राजनैतिक दल, विद्यालय व्यवस्थापनका अध्यक्षहरु, समाजसेवी, शिक्षक, प्रधानाध्यापकहरु सबै एक भएर लाग्न सके सोचेभन्दा बढी प्रगति हुनेमा पनि जोड दिए ।
कार्यक्रममा देवचुली नगरपालिकाकी उपप्रमुख पार्वता तिवारी, नगर प्रवक्ता क्याप्टेन डिलबहादुर खत्री देवचुली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा, कार्यापालिकाका सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले आआफ्नो धारणा राखेका थिए ।
देवचुली नगरपालिका भित्र आधारभूत र माध्यमिक तहका गरी करिब ३० वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।
https://www.youtube.com/watch?v=b6LUD8Jo9Yk&t=724s
