चितवनमा मोटरसाइकल चोरी आरोपमा चार पक्राउ

122







चितवनमा मोटरसाइकल चोरी गरेको आरोपमा सोमबार ४ जना पक्राउ परेका छन् ।

चितवन प्रहरीले उनीहरुको साथबाट ३ वटा मोटरसाइकल र एउटा स्कुटरसमेत बरामद गरेको छ । चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरूङले मोटरसाइकल चोरी घटना बढेसँगै चोरी कार्यमा संलग्नहरुलाई पक्रन पनि प्रहरी सक्रिय रहेको बताए । चोरी कार्यमा १६ वर्षमुनिका बालकहरुको प्रयोग हुने गरेको छ । कम उमेर हुँदा कानुनी सजायको भागीदार नहुने वा निकै कम हुने भएकाले बालकलाई चोर्न निर्देशन ठूला गिरोहले दिने गरेको प्रहरीको भनाइ छ ।

सार्वजनिक स्थानमात्रै होइन, घरमा पार्किङ गरेर राखेको मोटरसाइकल र स्कुटरसमेत चोरी हुन थालेपछि मोटरसाइकल चोरीसम्बन्धी उजुरी प्रहरीमा पर्ने गरेको छ । मोटरसाइकल चोरीमा केही व्यक्तिहरु नै संगठित भएर लाग्ने गरेको प्रहरीको भनाइ छ । समूह–समूह बनाएर चोरी हुने गरेको पाइएको छ । चोरी गर्न लागेको मोटरसाइकल हेर्ने एक जना, मोटरसाइकल धनी कता गएको के गरिरहेको भन्ने हेर्ने एक जना, चाबी तोड्ने एक जना हुने उनले बताए ।

चाबी तोडेर मोटरसाइकल लैजानका लागि बालकहरुको प्रयोग हुने गरेको प्रहरीको भनाइ छ । गत महिनामा मात्रै प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा ७ जना पक्राउ परेका थिए । प्रहरीले उनीहरुलाई चोरी आरोपमा मुद्दा चलाएको छ ।

‘उजुरीका आधारमा प्रमाणहरु संकलन गरेर चोर पक्रने र मुद्दा चलाउने काम भएको छ, अदालतबाट पनि प्रमाणका आधारमा सजाय भएका छन्, तर पनि चोरी घटना कम भएका छैनन्’, प्रहरी प्रमुख गुरूङले बताए ।

You might also like
Loading...