नवलपुरमा माघ ७ देखि २९ सम्म निशुल्क बन्ध्याकरण शिविर
नवलपुरः
नवलपुरमा सन्तानको रहर पुगेका महिला तथा पुरुषका लागि निशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा जिल्लाका ८ वटै पालिकाका १२ र जिल्ला अस्पताल एक ठाउँमा गरी १३ स्थानमा शिविर सञ्चालन हुने कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार माघ ७ गतेदेखि माघ २९ गतेसम्म जिल्लाका बिभिन्न स्थानमा परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा शिविर सञ्चालन हुनेछ ।
शिविरमा सन्तानको रहर पुगेका पुरुषका लागि भ्यासेक्टोमी र महिलाका लागि मिनिल्यापको सेवा निशुल्क रहेको जनाईएको छ ।
स्थानीय तहको समन्वय र सुनौलो परिवार नेपाल (मेरी स्टोप्स ईन्टरनेशनल)को सहयोगमा अनुभवी चिकित्सक सहितको टोली शिविरमा खटिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
माघ ७ गते देवचुलीको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रबाट शुरु हुने शिविर माघ २९ गते गैंडाकोटको प्रस्तावित गैंडाकोट नगर अस्पताल पिजौजी स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरेपछि सकिने स्वास्थ्य कार्यालय नवलपुरका परिवार नियोजन निरिक्षक (सुपरभाईजर) बीरबहादुर श्रेष्ठले बताए ।
निरिक्षक श्रेष्ठका अनुसार कावासोती नगरपालिका अन्तर्गत मध्यबिन्दु जिल्ला अस्पतालमा माघ ८, ९ र १० गते लगातार ३ दिन शिविर चल्नेछ ।
मध्यबिन्दु नगरपालिकाका ३ ठाउँमा एक–एक दिन शिविर सञ्चालन हुने भएको छ । जसअन्तर्गत नयाँ बेलहानी स्वास्थ्य चौकीमा १२ गते, चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा १३ गते र नवलपुर स्वास्थ्य चौकीमा १४ गतेलाई मिति र स्थान तोकिएको हो ।
बिनयी त्रिबेणीमा त्रिबेणी सुस्ता स्वास्थ्य चौकीमा माघ १६ र दुम्किबास स्वास्थ्य चौकीमा माघ १८ गते शिविर चल्ने भएको छ ।
हुप्सेकोट गाउँपालिकाको हुप्सेकोट स्वास्थ्य चौकीमा माघ २० र देउराली स्वास्थ्य चौकीमा २२ गते बन्ध्याकरण शिविर आयोजना गरिएको छ ।
बौदीकालीमा रकुवा प्राथमिक स्वास्थ्य केन्द्रमा माघ २४ गते र बुलिङटारको कोटथर स्वास्थ्य चौकीमा २५ तथा जौवारी स्वास्थ्य चौकीमा २७ गते शिविर चलाईने श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्य कार्यालयले शिविरमार्फत जिल्लाभर ३ सय जनाको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य लिएको छ ।