एकिकरण घोषणा गर्दै बन्यो महाराजा साकोषको तदर्थ समिति

84







कावासोतीः
कावासोतीको महाराजा बचत तथा ऋण सहकारी संस्था र हुप्सेकोटको लुम्विनी बहुउदेश्य सहकारी संस्थाबीच एकिकरण भएको छ ।
आज शनिवार कावासोतीमा आयोजित दशौ वार्षिक साधारण सभाका अवसरमा दुई सहकारीबीच एकिकरण भएको घोषणा भएको हो ।
महाराजा साकोषको १० औं वार्षिक साधारण सभाका अवसरमा प्रमुख अतिथिका रुपमा रहनुभएका नवलपुर वचत तथा ऋण सहकारी संघका अध्यक्ष माधवप्रसाद गौतमले छिरलिएर रहेका एउटै उदेश्य भएका सहकारी संस्थाहरु एकिकृत भएर शेयर सदस्यहरुको बृत्तिबृद्धिमा लाग्नु अहिलेको आवश्यकता रहेकाले दुई सहकारीबीच भएको एकिकरणले उदेश्यमा सफलता हासिल गरोस् भन्ने शुभकामना ब्यक्त गरे ।
अध्यक्षता महाराजा साकोषका अध्यक्ष प्रेमबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष बलराम थापामगर, सल्लाहकार सदस्य धनबहादुर मास्कीमगर, कावासोती वडा नं. ३ का अध्यक्ष अमृतकुमार श्रेष्ठ, लुम्विनी बहुउदेश्य सहकारीका अध्यक्ष गनबहादुर सारु मगर, लेखा समिति संयोजक ईन्द्रबहादुर फाल मगर लगायतले बोलेका थिए ।
एकिकरण घोषणा सभामा बोल्दै लुम्बिवी बहुउदेश्य सहकारीका अध्यक्ष गनबहादुर सारुमगरले बजार र ग्रामीण क्षेत्रको समाञ्जस्यता कायम गर्दै न्यून आयस्रोत भएका शेयर सदस्यको आयआर्जनमा टेवा पुर्याउदै आर्थिक विकासमा भूमिका खेल्ने गरी सहकारी मर्ज भएको बताए ।
महाराजा साकोषका अध्यक्ष २०७६ पुस १० गते एकिकरण कार्यदल बनाएर थालिएको प्रयास १ बर्षमा पुरा भएको बताए ।
२०५७ सालमा स्थापना भएको हुप्सेकोट र बौदीकाली सेवाक्षेत्र भएको लुम्विनी सहकारीमा ४ सय ५० शेयर सदस्य र ८० लाख रुपैंयाको कुल पूँजी रहेको छ भने २०६७ सालमा स्थापित महाराजा साकोषमा २ हजार ३ सय शेयर सदस्य र ११ करोड ५७ लाख कुल पूँजी रहेको महाराजा साकोषका ब्यवस्थापक रामनाथ उप्रेतीले जानकारी गराएका छन् ।
कार्यक्रमको सञ्चालन सचिव दयाराज गहतराज सुनारले गरेका थिए । कोभिडका कारण गत मंसीर १२ गतेदेखि शेयर सदस्यको राय–सुझाव संकलन गरी सिमित सदस्यबीचको उपस्थितिमा साधारण सभा भएको हो ।
यसैबीच, साधारण सभाले १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । एकिकरणपछि संस्था सञ्चालनार्थ र एकिकरणपछिको प्रथम अबिधेशन गर्नका लागि समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा प्रेमबहादुर राना, उपाध्यक्षमा देबीसरा पुलामी, सचिवमा दयाराज गहतराज, कोषाध्यक्षमा महेन्द्र थापामगर र सहसचिवमा गनबहादुर सारु चयन भएका छन् । यसैगरी सदस्यहरुमा राजेशक’मार सुनाम, रुपेशकुमार नेपाली, ईश्वरप्रसाद सापकोटा, शुशिलादेबी सापकोटा, ऋषिराम लम्साल, बालकृष्ण पाण्डे, जस्मति थापा मगर, गिरबहादुर कानुङ, फनिसरा थापा र एकनारायण पौडेल चयन भएका हुन् ।
यस्तै, साधारण सभाले ईन्द्र फाल, फुलमाया तिवारी र मिनाकुमारी राना सहितको ३ सदस्यीय लेखा तदर्थ समिति पनि गठन गरेको छ ।

You might also like
Loading...