असामयिक संसद विघटनका कारण र परिणाम: एक स्वतन्त्र विश्लेषण

91







नरनाथ पाण्डे –

१. पृष्ठभूमि

पौष ५ गते २०७७ साल नेपालको इतिहासलाई पुनः सम्झनुपर्ने र सम्झन बाध्य हुनुपर्ने दिन बनेको छ । यस्ता कतिपय तिथिमितिहरु इतिहासमा सम्झनु पर्ने हुन्छ जसले उत्साह र उमंग ल्याउने काम भन्दा दुःख सम्झाउने गर्छन् । पुनः नेपाली क्यालेण्डरमा उक्त दिन नेपाली मानस पटलमा कहिल्यै नमेटिने छाप राख्ने गरी सम्झने दिनको रुपमा दर्ज भएको छ । जुनदिन नेपालमा ऐतिहासिक कम्युनिष्टको दुई तिहाई सरकारका प्रधानमन्त्री के.पि. ओलीले करीब ३ वर्ष शासन गरे पश्चात आफैंले बनाएको संविधानका विभिन्न धाराहरुमा टेकी आफैंले पु¥याएको दुई तिहाई संसदलाई भंग गर्न सिफारिस गरी नेपालकै पहिलो (कम्युनिष्ट पृष्ठभूमिबाट आएकी) महिला राष्ट्रपति विद्यादेवी भण्डारीबाट गणतन्त्र पछिको ऐतिहासिक संसद भंग गरेकि छन् । पृष्ठभूमिका यी कुराबाटै हामी सजिलै बुझ्छौं कि संसदमाथि किन त्यति ठूलो अन्याय गरिएको होला, यसबाट कसको स्वार्थ पूर्ति हुनसक्ला, यो कदम नेपाली जनताको लागि आवश्यक थियो कि थिएन होला भन्ने जस्ता कौतूहलता मनभरि खेल्नु स्वभाविकै छ । यस आलेखमा गणतन्त्र पछिको नेपालको पहिलो ऐतिहासिक संसद दुई तिहाइ मतको शक्ति सम्पन्न प्रधानमन्त्रीले विघटन गरी संविधान सम्म त ताजा जनादेशका लागि मध्यावधि निर्वाचनको घोषणा गरेको दाबी गरे तापनि त्यो पछाडिका केही कारण र त्यसबाट उत्पन्न हुन सक्ने परिणामहरुलाई मध्यनजर राखी स्वतन्त्रतापूर्वक विश्लेषण गर्ने जमर्को गरिएको छ ।

२. संसद विघटन अघि नेकपाका गतिविधिहरु

गणतन्त्र पछिको पहिलो संघीय चुनाव अघि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी मिलेर एउटै पार्टी बनी चुनावमा गएर करिब दुई तिहाई बहुमत बटुलेर सरकार समेत गठन गर्न सफल भएको नेकपा इतिहासकै गर्व गर्न लायकदलका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनिएको थियो । चुनाव अघि यी ठूला पार्टीका दुई अध्यक्षहरुले नै यसको जस लिने काम समेत गरेका थिए र चुनाव पछि लगत्तै सरकार गठनकै बेला अनेक विवादको जन्म हुन थालेको हो । एउटै पार्टीका दुई अध्यक्षले जहाज राम्रो चलाउलान् भनेको त झन् जहाजलाई नै दुर्घटनामा पार्ने काम गरे भने जनतालाई निराशा बाहेक अरु केही दिन सकेनन् । पार्टी एकीकरण दुई जनामा मात्र भयो न कि केन्द्रमै पनि सबै संगठनको एकता हुन सक्यो । अरु तह र तप्कामा त हुने कुरै भएन । यो अवधिमा पार्टीका कार्यकर्ता दुई जना अध्यक्षका क्रियाकलाप हेरेरै बसे र केही झर्छ कि भनी हात थापेर बस्दा पनि केही नझरेपछि नराम्ररी झस्किन पुगे । भेटघाट, वार्ता, अन्तरक्रिया, लिखित वा मौखिक आरोप प्रत्यारोप, मन भाँच्ने र मन जोड्ने जस्ता क्रियाकलापमै करिब ३ वर्ष पार्टीका मुलीहरुले बिताए ।

यी दुई पार्टीका दुई अध्यक्षको मिलन एउटै पार्टीमा भए पनि करिब ३० महिने अवधिमा द्वन्द्वको श्रृङ्खला आन्तरिक रुपमा शुरुदेखि नै भए तापनि छताछुल्ल रुपमा २०७५ भदौदेखि दाहालले मन्त्रीहरु फेरिने अभिव्यक्ति शुरु गरेदेखि भएको हो । तत्पश्चात पुसको अन्तिम सातातिर दाहाल पक्षीय पाँच जना सचिवालय सदस्यहरुको धोवीघाट गठबन्धन भएपछि त अन्तिम स्तरका विभिन्न कसरतहरु भएका हुन् । सर्वसाधारण जनताले पनि बुझ्ने गरी दुई अध्यक्ष बीचको मनमुटाव भने २०७६ साल जेठ १५ गते दाहालले ओली र आफूबीच आलोपालो सरकार चलाउने सहमति भएको खुलासा गरेपछि भएको हो । दाहाललाई पूर्ण समर्थन गर्दै माधव नेपालले पनि साथ दिन थालेपछि २०७६ साउनको पहिलो सातामा त ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट कुनै हालतमा पनि हटाउने गरी लिखित सम्झौता समेत भएको थियो । लगत्तै भैंसेपाटी गुट समेत वामदेव गौतमको घरमा छलफल गरेपछि जन्मियो । अनि अलग अलग गुटका छुट्टाछुट्टै भेला र बैठकहरुले निरन्तरता पाए । राष्ट्रिय सभामा युवराज खतिवडा कि वामदेव गौतम भन्ने मुद्दाले पनि ठूलै संकट ल्यायो र अन्तमा खतिवडा नै नियुक्त गरिए । त्यसपछि ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा ठूलै खैलाबैला मच्चियो र ४ दिनपछि ओलीले फिर्ता लिए ।

२०७७ वैशाख १७ गते सचिवालय बैठकमा औपचारिक रुपमा प्रधानमन्त्रीको राजीनामा माग गरियो र त्यो संकट ओलीले आत्मालोचना गरेपछि टर्न पुग्यो । राजीनामा माग्ने काम औपचारिक रुपमा स्थायी कमिटि बैठकमा पनि भयो र साउनसम्म आईपुग्दा दुवै अध्यक्षको विवाद मिलाउन कार्यदल समेत गठन भयो । भदौ २६ गतेको स्थायी कमिटि बैठकले त पार्टी विवाद पूर्ण रुपले अन्त भएको घोषणा समेत ग¥यो । त्यसपछि अर्को विवाद फेरि ओलीले राजदुत नियुक्ति गरेपछि भयो र त्यस बीचमा कर्णाली प्रदेशको विवाद पनि आयो, अनि ओलीले मन्त्रीपरिषद् पुनर्गठन गर्दा पनि विवादआई नै रह्यो । पछिल्लो घटनाको जड तब शुरु भयो जब कार्तिक २८ गते दाहालले ओलीलाई दर्जनौं आरोप लगाउँदै सचिवालय बैठकमा प्रस्ताव पेश गरे । ओली र ओलीपक्ष सबैभन्दा बढी त्रसित भएको र आरोपपत्र फिर्ता नलिए त्यसपछि जे पनि हुन सक्ने तर्कहरु गरिन थालेको मुख्य घटना यही हो । घाउमा नुन चुक थप छर्कने काम ओलीले मंसीर ३० गते संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर शुरु गरे र अन्तमा पुस ५ गते संसद विघटनको सिफारिस राष्ट्रपतिबाट सदर गराई लागु गरेपछि अहिलेको यो अवस्था आएको हो ।

३. असामयिक संसद विघटनका कारणहरु

संविधानको धारा ७६ को उपधारा १ र उपधारा ७ मा टेकेर ओलीले अकस्मात संसद विघटन गराएका छन् । संसद विघटनको लागि पुस ५ गते मन्त्रीपरिषद्को बैठक बसी केही मन्त्रीहरुको विरोधका बाबजुद बहुमत मन्त्रीहरुको निर्णय र सिफारिसले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्ताव प्राप्त हुना साथ हठात संसद विघटन गरेकी हुन् । यसरी २ वर्ष बाँकी छँदै संसदको असामयिक भंग भएर मध्यावधि निर्वाचन २०७८ वैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न हुने गरी भएको घोषणा हुनु अहिलेको समस्याको चुरो हो ।

यसरी असामयिक ढंगले संसद विघटन हुनुका कारणहरुमा ओलीले आफ्नै पार्टीका नेताहरुले सरकारका हातखुट्टा बाँधेर अठ्याएर राखेकोले भएको हो भनी आरोप लगाउँछन् भने प्रचण्ड पक्षले ओलीको निरंकुशतावादी सोंचको उपज भनेका छन् । आफू अढाई वर्ष प्रधानमन्त्री भएर अवरोधका बाबजुद देशमा विकासको लहर ल्याउनु, नेपालको चुच्चे नक्शा जारी गरी संविधान संशोधनमार्फत आधिकारिकता दिनु, भारत सामु नझुक्नु र दीर्घकालिन विकास निर्माणका योजनाहरु ल्याई सुखी नेपाली र समृद्ध नेपालको कल्पना गर्नु नै दाहालपक्षका नेताहरुको लागि टाउको दुखाई भएको भन्ने कुरालाई नै ओलीले आरोप लगाएका छन् । त्यस्तै आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री चुनावबाटै भएको तर अरुलाई अध्यक्ष हुन र प्रधानमन्त्री हुन हतार हुँदा आफूलाई असहयोग गरी असफल बनाउने प्रयास गर्नु, राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई अविश्वासको प्रस्तावबाट पदच्युत गराउन खोज्नु, अनावश्यक ढंगले लिखित आरोपपत्र पार्टीको बैठकमा दर्ता गर्नु र आफ्नो चरित्र हत्याउन खोज्नु, सरकार असफल बनाउन बारम्बार प्रयास गर्नु, देशलाई विकासको साटो अन्धकारमा लैजान अनेक षड्यन्त्रहरु बुन्नु, सरकारको काममा अनेक बहानामा अवरोध गरी सरकार सञ्चालन गर्न नदिनु, मन्त्री परिषद्मा तथा अन्य संवैधानिक निकायमा गरिने नियुक्तिलाई लिएर रडाको मच्चाउनु जस्ता आदि कारणहरुले गर्दा आफूले संसद विघटन गर्नु परेको हो भनी ओलीले सफाई दिने गरेका छन् ।

संसद विघटनका कारणहरुको बारेमा दाहाल पक्षले भने ओलीलाई निरंकुश, तानाशाह, सर्वसत्तावाद, नक्कली राष्ट्रवाद भएको, राजामहाराज बन्न खोजेको, दम्भ र अहंकारी स्वभाव भएको, अरुलाई नटेर्ने र आफ्नो मन लाग्दी काम गर्ने व्यक्ति भएको भनी गम्भीर आरोप लगाई संविधानभन्दा माथि गई संसद विघटन जस्तो दुष्कर्म गरेको आरोप लगाएका छन् ।

४. संसद विघटनले ल्याएका परिणाम र हुनसक्ने अवस्थाहरु

संसद विघटन दुर्भाग्यपूर्ण हो र यो कसैको हितमा छैन । संसद विघटन हुनासाथ सबैभन्दा बढी चर्को आलोचना प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको भएको छ । आरोपमा संविधानमा हुँदै नभएको व्यवस्थालाई आधार बनाई संसद विघटनको कार्यान्वयन गर्नु सिंगो संसद, जनता र राष्ट्रमाथिकै प्रहार भएको भनिएको छ । संसद विघटनपछि देखा परेका परिणामहरु र भविष्यमा देखिन सक्ने परिणामहरु समेत अत्यन्तै घातक छन् । एक लयमा चलेको राज्य अकस्मात रुपमा तरंगित भएको छ र प्रायः सबै दल तथा जनताहरु आन्दोलित भएका छन् । राजावादीहरुको आन्दोलन सशक्त बन्दैछ, प्रतिपक्षी दल, मधेसवादी दल, अन्य सानातथा ठूला दलहरु सबैले ओलीको यो कदमलाई राजा ज्ञानेन्द्रको शैलीमै आएको गणतन्त्र र संघीयता माथिको कू भनेका छन् ।

लगभग सबै दलका विद्यार्थी, भातृ संगठन र नागरिक समाज समेत ओलीको कदम असंवैधानिक भन्दै सडकमा उत्रिरहेका छन् । त्यसो त ओलीपक्षीय नेता कार्यकर्ताहरु पनि सडकमै छन् जसले ओलीको कदमलाई स्वागत गरिरहेका पनि छन् ।
यसरी अकस्मात देखापरेका यस्ता दृश्यहरुको कारण सुरक्षा निकाय सतर्क अवस्थामा छ भने सबैको आस्थाको केन्द्रबिन्दु सर्वोच्च अदालतप्रति सबैको ध्यानाकर्षण भएको छ । इतिहासमा फेरि एकपटक निर्वाचन आयोग र सर्वोच्च अदालतको निष्पक्षता र न्याय सम्पादन क्षमताको मूल्यांकन हुँदैछ । सर्वोच्च अदालतको भुमिकाले देशमा नयाँ तरंग सृजना हुनेछ । देशलाई कता लैजाने, आगामी दिनहरुमा मध्यावधि निर्वाचन सहज बनाउने कि यस्ता कदमलाई लगाम लगाउने, फुटमा लागिरहने दलहरुको हैसियत के बनाउने, स्थायित्व कायम गर्ने वा देशलाई सधैं अस्थिर बनाई धाराशायी बनाउने भन्ने जस्ता तमाम प्रश्नहरुको उत्तर अहिले निर्वाचन आयोग र सर्वोच्च अदालतमै केन्द्रित देखिन्छ जसले देश र जनताको भविष्यको फैसला गर्नेछ ।

अन्तमा,

सर्वहारा वर्गको नेतृत्व गर्ने, राष्ट्रभक्त र जनताका सच्चा सिद्धान्त बोकेको पार्टी भनेर वर्षौंदेखि भन्दै आएको, क्रान्तिका नाममा रगतको खोलो बगाएर र भौतिक संरचना ध्वस्त पारेको घटना समेत बिर्सिएर विकास र समृद्धिको आशामा जनताले कम्युनिष्टलाई सत्तामा पनि पु¥याएकै हुन् । तर पूर्व माओवादी र पूर्व एमाले दुवै एकीकरण भई नेकपा बनेको यो पार्टीले दुई तिहाइकै बहुमत ल्याएर पनि आफ्नो इज्जत जोगाउन सकेन र दुनियाँका सामु कुनै नाक राख्ने काम गर्न सकेन जसलाई कम्युनिष्ट आन्दोलनकै असफलता भनेर भन्न अब कुनै डर रहेन । बडो सकस र मन्थनका साथ बनाएको संविधान अनुसार अब बन्ने सरकार स्थायी सरकार हुने र ५ वर्ष आरामले काम गर्न पाउने वातावरण बनेको छ भन्ने जनताको कल्पना पनि पुरा हुन सकेन । जुन अवस्था आउनु नेपाली जनताको अपमान, आफैंले बनाएको संविधानको बलात्कार र भविष्यमा राजनीति गर्नेहरुका लागि पनि वितृष्णा बाहेक अरु केही हात लागेन । हात लाग्यो त झन् बढी भ्रष्टाचार, गुट उपगुट, बलात्कार र कोकोहोलो मात्र ।

जसले जे भने पनि वास्तवमा संसद विघटन हुनुमा स्वदेशी तथा विदेशी शक्तिकेन्द्रहरु लागेर ऐतिहासिक कम्युनिष्ट सरकार विफल पार्ने षड्यन्त्रको पराकाष्ठा नै हो भनी विश्लेषण गर्न सकिन्छ । यसमा अरुलाई दोष लगाउनु भन्दापनि नेकपा भित्रको किचलो, सरकारलाई अनावश्यक हस्तक्षेप, महात्वाकांक्षी स्वभाव भएका नेताहरुको उपस्थिति, कमजोर प्रतिपक्ष, राष्ट्रपतिको कमजोर भुमिका, बाल हठ भएका नेता, राजनीतिक अपरिपक्वता र अदुरदर्शी नेतृत्व भएका कारण यो अवस्था आएको हो भनी सजिलै बुझ्न सकिन्छ । नेकपाको आन्तरिक किचलोकै कारण अहिलेको दुरावस्था आएको कुरामा कुनै शंका छैन । पार्टी भित्रको कुरा व्यवस्थापन गर्न नसक्दा राष्ट्र नै कमजोर हुनुपरेको र संविधानको बलात्कार हुनु राम्रो लक्षण हुँदै होइन । परिपक्व र दुरदर्शी नेताको प्रष्ट भुमिका देखा नपरुञ्जेल वा कार्यकारी प्रधानमन्त्री÷राष्ट्रपति भई प्रत्यक्ष निर्वाचित हुने अवस्थान आउञ्जेल देशमा यस्ता उतार चढाव पनि भइनै रहनेछन् ।

यसो भन्दै गर्दा नेपालको २०४७ सालको संविधान उत्कृष्ट संविधान भनिएको हो र त्यो पनि धेरै वर्ष टिकेन जसलाई २०७२ को संविधानले प्रतिस्थापन ग¥यो । अहिले गणतन्त्र नेपालको संविधान कार्यान्वयनमा आउँदै गरेको अवस्थामै संविधान माथि थुप्रै प्रश्नहरु उठिरहेको सन्दर्भमा संसद विघटनको यो कदमले संविधान कस्तो बनेको रहेछ त भन्ने कुराको समेत मूल्यांकन हुनेछ । आशाको केन्द्रबिन्दु सर्वोच्च अदालतले पक्कै न्यायिक फैसला गर्ने नै छ र सर्वोच्चको आदेश सबैको लागि स्वीकार्य र शिरोधार्य गर्न लायक हुनेछ भन्ने कुरामा विश्वस्त हुनु बाहेक अहिलेलाई अर्को विकल्प देखिंदैन ।

– (लेखक प्राध्यापक हुन्)
कावासोती—८, नवलपुर

You might also like
Loading...