आज माघे संक्रान्ति माघी पर्व, थारु, मगर र किराँत समुदायले नयाँ वर्षको रुपमा मनाउँदै

227







आज माघे संक्रान्ति तथा माघी पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर सक्रान्ति पनि भनिन्छ ।


आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणीलगायतका ठाउँ तथा नदीनालामा माघ स्नान गर्न भक्तजनको घुइँचो लागेको छ।

थारु, मगर र किराँत समुदायले आज नयाँ वर्षका रुपमा स्नान, दान एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँदै छन् । तराईका जिल्लामा माघे संक्रान्तिलाई तिला संक्रान्तिको रुपमा मनाउने गरिन्छ ।

आजको दिन स्नान, जप, तप, ध्यान साधना, दान गरे पुण्य पाइने धार्मिक मान्यता छ । आज घिउ, चाकु, तरुल, सखरखण्ड एवम् खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ ।

यी परिकारले जाडोमा न्यानो दिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यस्तै, केही ठाउँमा सेल रोटीलगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने चलन छ ।

थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदैछन् ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यस पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यस पर्व मनाइन्छ । बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरुले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारू समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।

गाउँका मुखिया सबै मिलेर छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने परम्परा छ । धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनोट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ । थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।

सरकारले वि.सं. २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ । वि.सं. २०७२ देखि भने माघ १ गतेलाई थारू समुदायले अझ बृहतरुपमा मनाउन थालेका छन् ।

माघीका अवसरमा राष्ट्रपति र प्रधानमन्त्री लगायतबाट शुभकमना व्यक्त

नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे संक्रान्ति एवं माघी पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन्।

नेताहरुले माघे सक्रान्ति पर्वले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भााव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक–सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका हुन्।

यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्वर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने नेताहरुले कामना व्यक्त गरेका छन्।

 


You might also like
Loading...