आँखा फर्फराउनुको कारण

473







आँखा फर्फराउँदा हामी शुभ तथा अशुभ घटनासँग यसलाई जोडेर हेर्छौं । यसबारे उहिल्यैदेखि समाजमा आफ्नै किसिमको धारणा रहिआएको छ । यो एक किसिमको अन्धविश्वास हो । हाम्रो आँखा फर्फराउनुको सम्बन्ध शुभ या अशुभसँग रहेको वैज्ञानिक आधार प्रमाण छैन । शारीरिक रूपमा हेर्दा यो एक सामान्य प्रक्रिया हो जसले व्यक्तिको शरीरिक स्थितिलाई झल्काउँछ । आँखा फर्फराउनु भनेको आँखाको मथिल्लो या तल्लो परेला अनियन्त्रित रूपमा कम्पन हुनु हो । विशेष गरी आँखाको माथिलो परेला फर्फराउने गर्छ ।


आँखा फर्फराउनुलाई मेडिकल भाषामा ‘ब्लेफारोस्पाज्म’ भनिन्छ । यसले दुवै आँखाको मांसपेशीमा प्रभाव पार्छ । कसैको आँखा केही क्षणका लागि मात्र फर्फराउने गर्छ भने कसै कसैको तीन र चार महिनासम्म पनि फर्फराउन सक्छ । पुरुषको तुलनामा महिलामा आँखा फर्फराउने समस्या बढी देखिन्छ ।

कारण

आँखा फर्फराउनुको कारण यही नै हो भनेर ठोकुवा गर्न सकिँदैन । किनभने यसको कारण हालसम्म अज्ञात छ । विज्ञहरूको भनाइअनुसार सम्भावित कारणहरू यस्ता हुनसक्छन् ।

थकानः धेरै टीभी वा दिनभरि कम्प्युटर, ल्यापटप, मोबाइलको स्क्रिनमा हेर्दा आँखामा बढी दबाब पर्ने भएकाले आँखा फर्फराउने समस्या देखा पर्नसक्छ।

मानसिक तनावः हामी सबैलाई केही न केही तनावले सताइरहेको हुन्छ । अत्यधिक तनाव हुँदा शरीरले विभिन्न किसिमबाट प्रतिक्रिया दिने गर्छ । आँखा फर्फराउनु पनि शरीरले दिने एक किसिमको प्रतिक्रिया नै हो । विशेषगरी दृष्टिसम्बन्धी समस्या जस्तै आधा टाउको दुख्नु (माइग्रेन) कमजोर दृष्टि हुनेहरूको आँखा बढी फर्फराउने गर्छ ।

आँखामा दबाबः धेरै बेरसम्म कुनै वस्तुलाई लगातार एकटकले हेरिरहँदा आँखामा बढी दबाब पर्न जान्छ । यसले आँखाका मांसपेशीलाई पुनः एक्टिभ गर्न पनि आँखा फर्फराउने गर्छ ।

चस्माको प्रयोगः तपाईं लामो समयदेखि पावर प्लस र माइनस भएको चस्मा लगाउनुहुन्छ र एक्कासि चस्मा लागाउन छोड्नुभयो भने आँखा फर्फराउने हुन्छ ।

मद्यपानः अत्यधिक मदिरापान, लागूपदार्थ सेवनले पनि आँखा फर्फराउने हुनसक्छ ।

धेरै टीभी वा दिनभरि कम्प्युटर, ल्यापटप, मोबाइलको स्क्रिनमा हेर्दा आँखामा बढी दबाब पर्ने भएकाले आँखा फर्फराउने समस्या देखा पर्नसक्छ ।

आँखा सुक्खा हुनुः कन्टयाक्ट लेन्सको प्रयोग गर्ने तथा वृद्धवृद्धाहरूको आँखा सुक्खा भएर चिप्रा (कचेरा) आउने, आँखा बिहान उठ्दा टाँसिने अवस्थामा पनि फर्फराउने समस्या देखा पर्छ ।

खानपानः खानामा शरीरलाई चाहिने विशेष प्रकारको पौष्टिक तत्वव जस्तै मेग्नेसियम, जिंकको अभाव भएमा परेलामा कम्पन हुन्छ र फर्फराउँछ ।

एलर्जीः कसैकसैलाई धूलो, धूवाँ तथा चर्को घाम (प्रकाश)बाट पनि आँखाको एलर्जी हुने हुन्छ । आँखाको एलर्जी हुँदा चिलाउने, सुन्निने तथा आँखा रसाउने हुन्छ । यही एलर्जीका कारण शरीरले देखाउने प्रतिक्रियाका रूपमा आँखा फर्फराउने गर्छ ।

अनिद्राः धेरै रातसम्म कुनै कारणवश निदाउन नपाउँदा अथवा निद्रा नलाग्ने समस्या छ भने पनि बिहानपख आँखा फर्फराउने गर्छ ।

वंशानुगतः पारिवारिक इतिहासमा कसैलाई आँखा फर्फराउने समस्या छ भने अन्य सदस्यलाई पनि यो समस्या हुने सम्भावना हुन्छ ।

लक्षण

अधिकांश व्यक्तिमा कुनै प्रकारको पूर्वसंकेतबिना नै आँखा फर्फराउने समस्याको सुरुआत हुन्छ । कसैकसैलाई यो समस्याका साथै भावनात्मक तनाव या संवेदनशीलताको पनि अनुभव हुनसक्छ । कुनै काम या कुनै विषयमा ध्यान केन्द्रित गरिरहेको छ भने वा सुतिरहेको अवस्थामा आँखा फर्फराउन कम हुन्छ । अत्यधिक रूपले आँखा फर्फराउन थालेमा अनुहारका मांसपेसीहरूमा एँेठन हुने सम्भावना हुन्छ ।

जटिलता

आँखा फर्फराउने समस्या लामो समयसम्म रह्यो भने आँखाको नानी (कोर्निया) क्षतिग्रस्त भई सदाका लागि आँखा बिग्रिनसक्छ । आँखा फर्फराउनुका साथै अनुहारको मांसपेसी पनि फर्फराउने, एैठन हुनेजस्ता समस्या देखा पर्छ । यसले आँखाको मांसपेसीको क्यान्सर पनि संकेत गरिरहेको हुनसक्छ ।

रोकथाम

आँखा फर्फराउनुको कुनै ठोस कारण नभएकाले यसलाई रोक्ने अचुक उपाय छैन । तर कुनै पनि कुराबिना कारण हँुदैन भनेजस्तै के कारणले आँखा फर्फराउन थाल्छ ? त्यसलाई विचार गरेर यो समस्या रोकथाम गर्न सकिन्छ । दैनिक आहारमा हरियो सागसब्जी, फलफूलमा केरा, सुन्तला, मौसम, किसमिस समावेश गर्ने, यसमा प्रचुर मात्रामा पोटासियम, मेग्नेसियम र जिंक पाइन्छ । जसले यो रोगलाई निको पार्न मद्दत गर्छ ।

अत्यधिक मद्यपान, धूमपान, कफीको सेवनले हो भने यसलाई बिस्तारै कम गर्दै लैजाने । कतिपय मानिसले आँखा फर्फराउन रोक्नका लागि परेलामाथि सानो कागजको टुक्रा टाँसेर राख्ने गर्छन् । यसले आँखाको कम्पनलाई अलिकति भए पनि कम गराउन मद्दत गर्छ ।

के गर्ने

– पूर्ण रूपले आराम गर्ने ।
– तनाव वा चिन्ता नलिने ।
– हल्का किसिमले आँखाको लिड सफा गर्ने ।
– आँखाको तनाव कम गर्न सनग्लास (चस्मा) लगाउने ।
– पूर्ण निद्रा निदाउने ।
– आँखालाई चिप्लो पार्ने (लुब्रिकेटिङ) आई ड्रप चिकित्सकको सल्लाहमा प्रयोग गर्ने ।
– काँक्रो, आलु पातलो मसिनो गोलो आकारमा काटेर प्रभावित आँखामाथि केही बेर राख्ने ।
– आँखामा आई ड्रप हालेजस्तै गुलाबजलको केही थोपा हाल्ने ।
– बिहान-बेलुकी मुख धुँदा आँखामा पानी छ्याप्ने (धुने) ।

के नगर्ने

– आँखा मिच्नु हुँदैन ।
– आँखाको सुरक्षाका उपायलाई अपनाउने ।
– आँखाको व्यायाम गर्ने ।
– योग, ध्यान आदिले पनि फाइदा हुन्छ ।

उपचार

आँखा लामो समयसम्म फर्फराएमा समस्या नै हुने गर्छ । त्यसलाई बेवास्ता गरेर बस्नु हुँदैन । पायक पर्ने स्वास्थ्यकेन्द्र वा विज्ञसँग सल्लाह लिनु जरुरी हुन्छ । होमियोप्याथीमा रोगीको उपचार उसको समष्टिगत लक्षणका आधारमा गरिन्छ । रोगीको मानसिक लक्षणलाई बढी महत्वव दिइने गरिन्छ, किनभने यो रोगको मुख्य केन्द्र मस्तिष्कको एक भाग हो । यसै ग्लान्डसद्वारा शरीरका मसलहरू नियन्त्रित हुने गर्छ ।

भनिन्छ, एलोप्याथिकमा यस रोगको उपचार नै छैन । रोगीको लक्षणका आधारमा यस रोगका लागि होमियोप्याथीमा सफलतापूर्वक प्रयोग गरिने औषधिमा बेलाडोना, हिपर सल्फर, केमोमिला, कुप्रम मेटालिकम, नेट्रम-म्युर, सिना, जिंकम, जेल्सिमियम, युफ्रेसिया, नक्स भोम, पल्साटिला, रसटक्स, पलम्बम, एगारिकस आदि हुन् । यी औषधिको प्रयोग चिकित्सकको सल्लाह लिएरमात्र प्रयोग गर्नुपर्छ ।


You might also like
Loading...