केपी ओली आफ्नै कारणले सकिने भए:  प्रचण्ड

ओली ढाँटको पुलन्दा हुन्: माधव नेपाल, ओलीको उर्लदो बैंश सकियो: योगेश भट्टराई

155








अर्जुन अबिरल
काठमाण्डौः

केपी ओलीलाई आफ्नै कर्मले आफैलाई सक्काएको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । उनले भने–“ओलीले जे गरे दुष्कर्म गरे जुन ईतिहासले बिर्सने छैन तर ओली आफ्नै कर्मले आफै सकिने भए ।”


काठमाण्डौंमा भएको प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै प्रचण्डले ओलीले नेकपालाई मात्रै फुटाएका मात्रै नपुगेर जनताको ठूलो बलिदानीबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्रको घाँटी निमोठ्ने काम गरेको आरोप लगाए ।

प्रचण्डले भर्खर जन्माएको बच्चालाई कसैले हत्या गर्दा जसरी आमाको मन रून्छ त्यसरी नै आफ्नो मन रोएको भावनात्मक अभिब्यक्ति दिए ।

त्यसैगरी अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले असली एमाले केपी ओली नभई आफू रहेको जिकिर गरेका छन् । अब एमाले र माओवादी दुवै विघटन भईसकेकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफु पक्षको हुने जिकिर गरे । उनले ओलीलाई “ढाँट”को उपमा दिदै भनेका छन्– “ओली ढाँटको पुलन्दा हुन्, उनले एकै दिन एउटै पद तीन तीन जनालाई बाँडेका छन् । ठाउँका ठाउँ ढाँटेका छन्, पार्टीको बैठकमा पनि पटक पटक ढाँटेका थिए ।” उनले केपीबाट प्रचण्ड र बामदेब पटक–पटक ढाँटिएका उदाहरण प्रस्तुत गरेका थिए ।

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य योगेश भट्टराईले केपी ओलीलाई छोटे राजाको संज्ञा दिएका छन् । उनले यस्ता छोटे राजाहरुलाई छिट्टै फ्याक्ने बताए । योगेशले भने–“हामीले ठूला महाराजाहरूलाई त फाल्यौ तर आफ्नै नजिकैको कुर्चीमा छोटे राजाहरू रहेछन् अब यिनलार्ई पनि छिट्टै फ्याक्छौं ।”

उनले केपी ओलीप्रति कटाक्ष गर्दै भनेका छन्–“ओलीको उर्लदो बैंश सकियो अव उनी ओरालो लागेका छन्, ओरालो लागेको मान्छे अब उकालो लाग्दैन ।”

कार्यक्रममा प्रेस काउन्सिलका पूर्व अध्यक्ष किशोर श्रेष्ठ, प्रेस काउन्सिलका पूर्व सचिव संगिता खड्का, बरिष्ठ पत्रकार तथा साहित्यकार नारायण वाग्ले, पत्रकार महासंघका पूर्व अध्यक्ष ओम शर्मा, वर्तमान अध्यक्ष गोविन्द आचार्य, प्रेस चौतारीका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस चौतारीका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द्र रावत, फोनिज अध्यक्ष डण्ड गुरूङ्ग, मधेसी पत्रकार संघका अध्यक्ष मोहन सिंह लगायतले बोलेका थिए । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला मंगलबार काठमाण्डौंको प्रज्ञा भवनमा संगठनका अध्यक्ष महेश्वर दाहालको अध्यक्षतामा भएको थियो ।


You might also like
Loading...