प्रचण्डको ‘ननभेज’ आन्दोलनको रिहल्सन

113







  • नारायण पंगेनी – 

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि देशमा नयाँ राजनीतिक तरंग उत्पन्न भएको छ ।

नेकपाभित्रको आन्तरिक खिचातानी र रस्साकस्सीकाबीच प्रधानमन्त्री ओलीले संसद विघटनको बाटो रोजेपछि नेकपाकै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले संसद विघटनको कदमलाई ओलीको प्रतिगमनको रुपमा हेरिरहेको छ । ओलीको प्रतिगामी कदम भन्दै प्रचण्ड–नेपाल समूहले सशक्त संघर्षको घोषणा गरेको छ ।

स्पष्ट दुई समूहमा विभाजित भएको नेकपाले आफ्ना समूहका नेता कार्यकर्तालाई देशब्यापी रुपमा नै भेला प्रशिक्षण गरी आ–आफ्नो कित्ता स्पष्ट गरिसकेका छैन । भलै, निर्वाचन आयोगले दुई समूहमध्ये कुन समूहलाई नेकपाका बैधानिकता दिन्छ त्यो भने निश्चित भएको छैन ।

बैधानिक रुपमा पार्टी विभाजन नभए पनि दुबै समूह दुई पार्टीका रुपमा कार्यकर्ताहरुलाई प्रशिक्षित गरिसकेका छन् । केन्द्र, प्रदेश, जिल्लादेखि नगरसम्म नै नेकपा दुई समूहमा विभक्त भइसकेको अवस्था छ ।

नेकपा एकता र द्वन्द्वको शिलशिला

सशस्त्र संघर्षलाई आत्मसाथ गरी आएको प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) र संसदीय ब्यवस्थालाई अंगिकार गरेको आएको नेकपा (एमाले) बीच साढे दुई वर्षअघि २०७४ जेठ ३ गते तत्कालिन मालेका महासचिव मदन भण्डारीको स्मृति दिवसका दिन पारेर एकता घोषणा गरिएको थियो ।

निर्वाचनअघि नै दुई पार्टीबीचको कार्यगत एकता गरी प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएका दुई पार्टीले औपचारिक रुपमा एकता घोषणा गरेपछि नेकपा नेतृत्वको सरकार दुई तिहाई नजिक पुग्यो । दुई तिहाई नजिक पुगेको सरकारलाई अब कसैको तागतले ढाल्न नसक्ने दम्भ नेकपामा देखियो ।

प्रदेश सरकारमा पनि २ नम्बर प्रदेश बाहेक सबै प्रदेशमा नेकपाकै बोलवाला थियो । ठूलो पार्टी बनाएर सत्ता सञ्चालन गर्न पाइने अभिष्टले मात्रै एकतामा गएका नेताहरुको द्वन्द्व त्यहिँबाट शुरु भयो, जहाँ सत्ताको स्वाद चाख्न पाइन्छ । सत्ताको नेतृत्व पाँचै वर्ष एकजनाले मात्र होइन, आलोपालो गर्नुपर्छ भन्नेमा एकतामा गएका दुई पार्टीका नेतृत्व पंक्ति पुग्यो । र, पाँच वर्ष स्थायी सरकार बनाउने जनतामा बाँडेको आश्वासन विपरित आधा आधा वर्ष ओली र प्र्रचण्ड प्र्रधानमन्त्री बन्ने लिखित समझदारी गरे ।

आलोपालो प्रधानमन्त्री बन्ने लिखित समझदारी गरेका प्रचण्डले आफ्नो पालो आएपछि पनि ओलीले नछाड्ने संकेत दिएपछि द्वन्द्वको शिलशिला बढ्दै गयो । ओली–प्रचण्डबीचको द्वन्द्वलाई घिउ थप्ने काम नेकपाकै अर्का नेता माधवकुमार नेपालले गर्न थाले । आलोपालो प्रधानमन्त्री बन्ने समझदारी कार्यान्वयनमा नआएपछि आ–आफ्नो गुट गुटउपगुट मजबुत हुँदै गए । विभिन्न सौदाबाजीहरु हुन थाले ।

ओलीले प्रचण्डलाई प्रधानमन्त्री पद दिन अस्वीकार गरेपछि प्रचण्डले गुपचुप गरिएको आलोपालो प्रधानमन्त्रीको लिखतबारे सार्वजनिक कार्यक्रममा ओकल्दै जान थाले ।

प्र्रचण्डको पदलोलुपता, ओलीको अहमता

आफू प्रधानमन्त्र हुने बाटो नखुलेपछि गोप्य रुपमा गरिएको आलोपालो प्रधानमन्त्री हुने सहमतिलाई पनि सार्वजनिक गरिदिएका प्रचण्ड सरकारले गरेका काम र गतिविधिको निगरानीमा लागे ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पनि जनताको हितमा काम गर्न सकेनन् । राष्ट्रका हितमा उल्लेखनीय काम गर्न नसकेका प्रधानमन्त्री ओली चौतर्फी आलोचित हुन थालेपछि पार्टीभित्रैको माधव नेपाल र प्रचण्ड गुट ओलीको बर्खिलाप गर्नतर्फ लागे ।

आफू प्रधानमन्त्री बन्न पनि नपाउने र प्रथम अध्यक्षको हैसियतमा ओली नै रहने भएपछि प्रचण्डले आफू कमजोर हुने महशुस गरे । प्रधानमन्त्री नपाउने भएपछि आफू कार्यकारी अध्यक्ष हुने दाउमा प्रचण्ड लागे । आफू पाँच वर्ष नै प्रधानमन्त्री रहने र प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने अर्को सहमति गरेका ओलीले ब्यवहारतः प्रचण्डलाई कार्यकारी अध्यक्ष स्वीकार गरेनन् । सार्वजनिक रुपमै आफू प्रथम अध्यक्ष नै रहेको र काम गर्न दोस्रो अध्यक्षलाई सोधिरहनु नपर्ने अभिब्यक्ति दिँदै हिडे ।

बाहिरी रुपमा पार्टी एक भएको देखिए पनि बास्तवमै एक नभएको नेताका गुट उपगुट अझ मौलाउँदै मात्र गएन, पार्टी फुटाउन सहज हुने गरी प्रधानमन्त्री ओलीले अध्यादेश नै ल्याए । पार्टी विभाजनका लागि संसदीय दल र पार्टीमा ४०÷४० प्रतिशत हुनुपर्नेमा संसदीय दल वा पार्टीमा मात्रै ४० प्रतिशत भएमा पार्टी विभाजन गर्न सकिने सो अध्यादेश थियो । प्रचण्ड–नेपालसमूहको विरोध र विपक्षी दलहरुले सो अध्यादेश अस्वीकृत त भयो । तर त्यहिबेला ओलीले आफ्नो समूहका पात्र खडा गरी नेकपा (एमाले) नामको पार्टी निर्वाचन आयोगमा दर्ता गराए ।

पार्टीभित्रको द्वन्द्व चरमउत्कर्षमा पुग्यो । ओलीलाई मात्र होइन, राष्ट्रपति विद्या भण्डारीलाई नै हटाउने योजना प्रचण्ड–नेपाल समूहको बन्यो । त्यसका लागि महाअभियोग लगाउने तयारीमा पुगे ।

सर्वप्रथम ओलीविरुद्ध नेकपाका ८० जना सांसदहरु अविश्वास प्रस्ताव बोकेर राष्ट्रपति कार्यालय पुगे, ओलीले पनि ‘न रहे बाँस, न बजे बाँसुरी’ भनेर संसद विघटनको प्रस्ताव राष्ट्रपतिसमक्ष पठाए । आफूलाई पनि महाभियोग लगाउने तयारी गरेको सुइँको पाएकी राष्ट्रपति भण्डारीले तत्काल संसद विघटनको प्रस्ताव स्वीकृत गरी मध्यावधि निर्वाचनको मिति घोषणा गरिदिइन् ।

बरालिएको राजनीतिक यात्रा

नेकपाको एकता न त सैद्धिन्तिक थियो, न त फुट नै । ठूलो पार्टी बनाएर सधैं सरकारका जान पाइने मन्त्र जप्दै आएका नेताहरुको अरु कुनै स्वार्थ थिएन, स्वार्थ थियो त सत्ताको मात्र ।

प्रतिनिधिसभा विघटन गरिएपछि एकाएक तरंगित नेपाली राजनीतिको मियो प्रचण्डले आफूलाई बनाएका छन् भने अरु नेता कार्यकर्ता मतियार बनिरहेका छन् । त्यसैको लहडमा संसद विघटन गरिए लगतै प्रचण्ड–नेपाल समूहका सात मन्त्रीले तत्काल राजीनामा दिएर बाटो खाली गरिदिए । सत्ताको रसास्वादन गरिरहेका तिनै प्रचण्डसमूहका रामबहादुर थापा बादलदेखि सत्ताको र्याल काढिरहेका टोपबहादुर रायमाझी, प्रभु साह र मणि थापाहरु नै ओली सरकारमा गएर प्रचण्डको बैरी दुश्मन हुन पुगे ।

आफ्नो प्रधानमन्त्री काल लम्ब्याउन र प्रचण्डलाई प्रधानमन्त्री हुनबाट रोक्न ओलीले हठात संसद विघटन गरिदिएपछि प्रचण्ड–माधव समूह संसद पुनःस्थापना गरी ओली र राष्ट्रपति भण्डारीलाई ठेगान लगाउने योजनामा छन् । तर नेकपा दलको आधिकारिकताको विवाद निर्वाचन आयोगमा अल्झिएको छ भने संसद विघटनको मुद्दा सर्वोच्चमा गएर ठोक्किएको छ ।

वर्तमान संसदीय राजनीतिक ब्यवस्थामा गरिने संसद पुनःस्थापना वा मध्यावधि निर्वाचनले दिने परिणामको चित्र आम जनताले देखिसकेका छन् । विभिन्न दल मिलेर बनेको सरकार र बहुमत प्राप्त राजनीतिक दलको सरकारको हविगत प्रत्यक्ष भोगेका नेपाली जनताले बैकल्पिक शक्तिको खोजी गर्ने अवस्था आएको छ ।

‘ननभेज’ आन्दोलनको रिहल्सन

संसद विघटनको विरुद्धमा प्रचण्ड–माधव समूह देशब्यापी आन्दोलनको जेहाद छेड्न खोजिरहेका छन् । संविधानसभाबाट २०७२ सालमा नयाँ संविधान जारी भएपछि जनक्रान्ति सफल भएकोले समाजवादी बाटोको यात्रा तय गरेको बताएका प्रचण्डले त्यतिबेला अब मुलुकमै कहिल्यै आन्दोलन नहुने उद्घोष गरेका थिए ।

तिनै प्रचण्ड अब सामान्य आन्दोलनले हुँदै भिषण रक्तपातपूर्ण आन्दोलन गर्नुपर्छ भन्दै कार्यकर्तालाई उक्साइरहेका छन् । ‘भेज’ आन्दोलन होइन, ‘ननभेज’ आन्दोलन हुनुपर्ने भन्दै प्रचण्डले आफू पनि टाउको फुटाउन तयार भएको भन्दै कार्यकर्तालाई उक्साइरहेका छन् । प्रचण्डको ‘ननभेज’ आन्दोलनको रिहल्सन स्वरुप प्रचण्ड–नेपालसमूहले देशभरीबाट कार्यकर्ता काठमाडौं ओरालेको छ ।

यसअघि प्रचण्डको अहिलेका सहयात्री माधव नेपाल प्रधानमन्त्री भएकाबेला पनि उनलाई प्रधानमन्त्रीबाट हटाउन प्रचण्डले देशभरीका कार्यकर्ता काठमाडौं ल्याएर सत्ताकब्जा गर्ने भन्दै प्रहसन गरेका थिए । केन्द्रीय सत्ता कब्जा गर्ने भनी उक्साएको त्यो आन्दोलन छ दिनमै तुहिएको थियो । जसलाई प्रचण्डले ठूलो रक्तपात हुने अवस्था भएकाले पछाडि हड्नु परेको कार्यकर्तालाई ब्रिफिङ् गरेका थिए ।

त्यतिबेला कामचलाउ प्रधानमन्त्रीका रुपमा रहेका नेता नेपालले प्रचण्डलाई आफूले विष वृक्ष रोपेको समेत भन्न भ्याएका थिए ।

अहिले पुनः प्रधानमन्त्री ओलीलाई गलहत्याउन भन्दै प्रचण्डकै भाषामा ‘ननभेज’ आन्दोलनको रिहल्सन गरिरहेका छन् । सामान्य आन्दोलनले पासा नपल्टिने देखेका प्रचण्डले आफ्नो समूहको जनवर्गीय संगठनहरुको समेत भेला प्रशिक्षण गरी आन्दोलन चर्काउन उक्साइरहेका छन् ।

पूर्व प्रधानमन्त्रीको हैसियतमा अहिले पनि दर्जनौं सरकारी सुरक्षाकर्मीलाई अघिपछि लगाएर साइरन बजाउँदै आन्दोलनमा उत्रिने प्रचण्डले प्रहरीको लाठी खालान् कि खाँदैनन् भन्ने हेर्न बाँकी नै छ ।


You might also like
Loading...