गैंडाको आक्रमणबाट घाईतेलाई उपचार खर्च अभाव

387







खगेन्द्र पराजुली, ११ माघ, नवलपुरः


गत माघ ४ गते गैडाको आक्रमणबाट घाईते भएका पदमबहादुर रानाभाटको उपचार खर्च जुटाउन गाह्रो भएको छ ।
देवचुली नगरपालिकाको वडा नं १५ प्रगतिनगरको मध्यवर्ती क्षेत्र सालघारीमा गैंडाले आक्रमण गर्दा रानाभाट घाईते भएका हुन् ।
अहिले उनको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भईरहेको छ । तर, कमजोर आर्थिक अवस्थाका कारण दैनिक औषधोपचारमा आउने खर्च जुटाउन परिवारलाई अप्ठ्यारो परेको अस्पतालमा घाईतेको स्याहार–सुसारमा बसेकी पदमकी श्रीमतीले बताएकी छन् ।
घाईतेकी श्रीमती बिष्णुमाया रानाभाटले आफ्नो आर्थिक अवस्था निकै कमजोर रहेको, प्रसस्त जग्गा जमिन पनि नभएको, दैनिक गुजाराका लागि परिवारकै खटनमा सानो खाजा घर चलाएको तर गैंडाको आक्रमणमा श्रीमान् परेपछि पसल समेत बन्द गरेर श्रीमानलाई कुरेर अस्पतालमा बस्नुपर्दा रकम अभाव भएको बताएकी छन् ।
पदमको उपचारमा संलग्न डाक्टरको भनाई उधृत गर्दै बिरामीसँगै अस्पतालमा बसेकी बिष्णुमायाका अनुसार उनका श्रीमानको शरीरका बिभिन्न अंगहरुमा सामान्य चोटपटक लागेपनि मेरुदण्ड र छातीको करङ भाचिएका छन् । उठ्न–बस्न नमिल्ने घाईते अवस्थामा रहेका पदमको अप्रेशन गर्नुपर्ने भएपछि उपचार खर्च अभाव भएको हो । उनलाई ठीक हुन ३ देखि ६ महिनासम्म लाग्ने डाक्टरले बताएका छन् । तत्काललाई ऋण–धन गरेर जुटाएको ५० हजार, चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको शिशवार मध्यवर्ती उपभोक्ता समितिले आकस्मिक रुपमा उपलब्ध गराएको २० हजार रुपैंया सकिएको छ ।
उनले सरकारी अस्पतालमा उपचार भैरहदा वन–निकुञ्ज तथा मध्यवर्ती लगायतका सरोकारवाला निकायले उपचारका बखत लाग्ने खर्चमा अस्पतालसँग समन्वय गरेर सहजीकरण गरिदिने हो भने केही राहत हुने आशा गरेकी छन् । तर, कसैले पनि आफ्नो कुरा नसुनेको गुनासो गरिन् । उनले भनिन्– “एक पटक आएर फोटो–सोटो खिचेर जानुभयो । अस्तालमा कुरा गर्छौ भन्नुभयो तर अस्पताल प्रशासनले अप्रेशनका लागि के–के सामान काठमाण्डौबाट किनेर मगाउनुपर्छ पैंसाको ब्यवस्था गर्नुस् भनेको छ मसँग पैसा नै छैन ।”

यता चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको शिशवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले संस्थागत रुपमा सहयोगको भुमिका खेलिरहेको बताए । पाण्डेले बढीमा तीन महिनासम्ममा बिल भरपाई अनुसारको सबै उपचार खर्च नेपाल सरकारले बेहोर्ने प्रावधान रहेकोले प्रक्रियागत ढंगबाटै सोधभर्ना हुने बताए । अस्पताल प्रशासनसँग पनि छिटो उपचार गर्न आग्रह गरेको बताए ।


You might also like
Loading...