काजी बालाई प्रचण्डले दिए श्रद्धाञ्जली





भरतपुर । पुराना बामपन्थी नेता खम्बसिंह कुँवर ‘काजी बा’ को शवमा नेकपा अध्यक्ष प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

९५ बर्षको उमेरमा मंगलबार बिहान निधन भएका कुँवरलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिएका हुन् । प्रचण्डले शवमा फुलमाला र पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे । साथै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गरे ।


अन्तिम श्रद्धाञ्जलीका लागि कुँवरको शव कृष्णपुरस्थित नेकपा भरतपुर महानगर कमिटिको कार्यालयमा राखिएको थियो ।

श्रद्धाञ्जलीमा नेकपा नेता देव गुरुङ, बागमती प्रदेशका सांसद कृष्ण खनाल, भरतपुर महानगर प्रमुख रेनु दाहाल लगायत नेताहरु सहभागि थिए ।

कुँवरको शवलाई अन्तिम श्रद्धाञ्जली दिएपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन उनको ठूलो योगदान रहेको बताए ।

आफुले कुँवरबाट नै पार्टी सदस्यता लिएको भन्दै उनले आफुलाई अगाडी बढाउन कुँवरको योगदान धेरै रहेको बताए । ‘उहाँलाई कम्युनिष्ट आन्दोलन र मेरो आफ्नै अभिभावकको रुपमा पनि लिएको छु’, उनले भने । कुँवरबाट २०३३ सालमा पार्टीको सदस्यता लिएको उनले बताए ।

कम्युनिष्ट आन्दोलन र राजनितिमा गम्भिर मोड र धक्का लागेको अवस्थामा काजी बाको निधन पिडादायी रहेको उनले बताए ।

काजी बाको अवसानले प्रतिगमन र प्रतिगामीका विरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा दिने उनले बताए ।

श्रद्धाञ्जली दिने कार्यक्रममा नेकपाले जारी गरेको शोक वक्तव्य पढेर सुनाइएको थियो ।




सम्बन्धित
Loading...