कोरोनाविरुद्धको खोप अभियान सुरु


काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान भर्चुअल माध्यमबाट खोप अभियानको सुभारम्भ गर्नुभएको हो ।




काठमाडौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ । पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीलाई खोप दिने सरकारले जनाएको छ ।

यसैगरी खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ ।




पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाउनु भएको छ । उहाँले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकै केन्द्रमा खोप लगाएर खोप लगाएपछि खोप अभियान सुरु भएको हो ।

खोपका बारेमा धेरै आशंका देखिएकाले खोप सुरक्षित रहेको सन्देश दिन आफूले अस्पतामा हुने कार्यक्रममा पहिलो खोप लगाएको उहाँले बताउनुभयो । भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो ।

स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्नेछ । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।




सम्बन्धित
Loading...