चितवनका नौ व्यावसायिक फर्म कारवाहीमा परे


मूल्यसूची नराख्ने नारायणगढका नौवटा थोक पसलहरुलाई जरिवाना गरिएको छ । मूल्यसूची नराख्ने सातवटा पसललाई ५० हजार र दुईवटा पसललाई २० हजार रूपैयाँका दरले जरिवाना गरिएको हो ।




थोक पसलहरुले मूल्यसूची नराखेको भन्ने उजुरीका आधारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज र जिल्ला प्रशासन कार्यालय चितवनले मंगलबार संयुक्तरुपमा नारायणगढका प्लास्टिक, कपडा तथा किराना पसलहरुको अनुगमन गरेको थियो ।

अनुगमन गरिएका नौवटा पसलहरुमा कुनैले पनि मूल्यसूची राखेको नपाइएको जिल्ला प्रशासन कार्यालय चितवनका अनुगमन प्रतिनिधि खरिदार आदर्श अधिकारीले जानकारी दिए । उनका अनुसार नारायणगढका विनोद एण्ड डिला इम्पोरियम, चितवन पर्दा हाउस, पलमी इन्जिनियरिङ इन्टरप्राइजेज, गुप्ता धागो स्टोर्स र एएस ट्रेडर्स चुरा कस्मेटिक पसललाई ५० हजार रूपैयाँका दरले जरिवाना गराइएको छ ।




त्यस्तै, श्रेष्ठ कन्सर्न प्रालि र नेसनल ट्रेड बिजनेसलाई ५० हजार रूपैयाँ र एचएस ट्रेडर्स र भरतपुर–१० स्थित ओम साईराम प्लास्टिक सप्लायर्सलाई २० हजार रूपैयाँका दरले जरिवाना गराइएको उनले बताए । ‘मूल्यसूची नराख्ने गरेको भन्ने उजुरी आएपछि हामीले प्लास्टिक, किराना र कपडासम्बन्धी होलसेल पसलहरुमा संयुक्त अनुगमन गरेका हौँ’, उनले भने, ‘अनुगमनमा केही पसलले कागजपत्रहरु पनि नराखेको पाइयो, मूल्यसूची नराख्ने पसललाई अन दी स्पट जरिवाना गरायौँ ।’

केही सामानको मात्रै मूल्यसूची राखेका दुई पसललाई २० हजार रूपैयाँका दरले जरिवाना गराइएको उनले बताए । विनोद एण्ड डिला इम्पोरियमले व्यवसाय दर्ताको कागजपत्र देखाउन नसकेको र नेसनल ट्रेड बिजनेसले खाद्य सामग्रीहरुमा लेबल नराखेको पाइएको उनले जानकारी दिए । उपभोक्ताहरुलाई ठग्ने नियतले नै मूल्यसूची नराख्ने गरेको पाइएपछि त्यस्ता पसल सञ्चालकलाई ५० हजार रूपैयाँ जरिवाना गराइएको उनको भनाइ छ ।

जरिवानाबापतको रकम वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जको वाणिज्य बैंकमा रहेको खातामा सात दिनभित्र दाखिला गरी त्यसको भौचर लिएर आउन निर्देशन दिइएको छ । साथै, ७ दिनभित्रै मूल्यसूची राख्न पनि भनिएको छ । ‘७ दिनभित्र मूल्यसूची राखेर बैंकमा जरिवाना दाखिला नभए थप कारबाही गर्छाैं’, उनले भने ।

बेकरीको उत्पादनमा रोक

फोहोर व्यवस्थापनमा लापर्बाही गरेको भन्दै नारायणगढको शिव बेकरीको उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको छ । खाद्यवस्तुको उत्पादन र बिक्रीवितरण गर्दा सरसफाइको मापदण्डलाई पालना गरेको नपाइएकाले उत्पादनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनका खरिदार आदर्श अधिकारीले बताए ।

‘सरसफाइ र फोहोर व्यवस्थापन गर्न सात दिनको म्याद दिइएको छ’, उनले भने, ‘त्यतिन्जेलसम्म उत्पादन र बिक्रीवितरण गर्न निर्देशन दिएका छौँ ।’ मंगलबार अनुगमन गरिएका सबै पसलहरुमा सात दिनपछि पुनः अनुगमन गरिने उनको भनाइ छ ।




सम्बन्धित
Loading...