भ्रष्टाचारकै कारण राजनीतिक अस्थिरता निम्तिएको जिकिर
संसद विघटनपछिको राजनीतिक अस्थिरता र अबको निकास सन्दर्भमा आज पूर्वी नवलपरासीको कावासोतीमा सबै दलहरुबीच वृहत्त अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
भ्रष्टाचार विरुद्ध संयुक्त अभियान नवलपुरको आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले मुलुकमा ब्याप्त भ्रष्टाचारको कारण राजनीतिक अस्थिरता निम्तिएको बताएका छन् । उनीहरुले अहिलेका राजनीतिक दलका नेताहरु आफैले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएर ब्यहारमा लागू गर्नुपर्नेमा जोड दिएका थिए ।
अन्तरक्रियामा भाग लिनु भएका जनता समाजवादी पार्टीका महासचिव तथा संगठनन विभाग प्रमुख गंगानारायण श्रेष्ठले राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुका उत्पादनमा नजोडिदासम्म भ्रष्टाचार मौलाइरहने बताउनुभयो ।
उहाँले एम्नेस्टी इन्टरनेशलनको पछिल्लो प्रतिवेदनलाई उल्लेख गर्दै अहिलेको राजनीतिक अस्थिरता बढ्दै जाने हो भने नेपाल भ्रष्टाचारमा पहिलो हुन सक्ने आशंका ब्यक्त गर्नुृभयो ।
जसपा नेता श्रेष्ठले भ्रष्टाचार विरोधी कानूनहरु फितलो भएको जिकिर गर्दै भ्रष्टाचारीलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्नेमा जोड दिनुभयो । उहाले पछिल्लो राजनीतिक संकट समाधानका लागि २०७२ सालको संविधान मान्ने संघीय लोकतान्त्रिक गणतन्त्र मान्ने शक्तिहरुबीच कार्यगत एकता गनरी संयुक्त आन्दोलन गर्नुपर्ने बताउनुभयो ।
यस्तै, नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य चन्द्रहरी सुवेदी अटलले अहिलेका ब्यवस्थाबाट मुलुकको समाधान हुन नसक्ने भन्दै जनवादी गणतन्त्रबाट मात्रै मुलुकको निकास निस्कने बताउनुभयो ।
उहाँले अहिलेको दलाल संसदीय ब्यवस्थाबाट मुलुकको जनताका समस्याहरु समाधान नहुने भन्दै जनताको समस्या समाधान नगरी मुलुकले निकास नपाउने बताउनुभयो ।
यसैगरी, नेकपा प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य किशन शर्मा गैरेले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगामी कदमका विरुद्ध साझा रुपमा आन्दोलन उठाउनुपर्ने बताउनुभयो ।
नेकपा प्रचण्ड माधवसमूहकै केन्द्रीय सदस्य रबिन्द्र अधिकारीले लोकतन्त्रको रक्षाका लागि सशक्त आन्दोलनको आवश्यकता औंल्याउनुभयो । उहाँले लोकतन्त्रिक प्रणाली अनुसार देश अगाडि चल्न नसकेमा लोकतन्त्रवादी भन्ने सबै शक्तिको टाउकोमा लाठी बर्सिने बताउनुभयो ।
अखिल नेपाल शिक्षक संगठनका नेता घनश्याम पाठकले संसद पुनःस्थापना वा नयाँ निर्वाचन दुबैबाट निकास ननिस्किने बताउनु भयो । उहाँले सिद्धान्त र दर्शन एकातिर र राजनीतिक ब्यहार अर्कातिर हुँदा समस्या उत्पन्न भएको बताउनुभयो ।
यस्तै, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बन्धु विक्रम क्षेत्रीले अहिलेको संसदीय ब्यस्वस्था नै अहिलेको संकटको मुल कारक भएको बताउनुभयो । प्रतिनिधि सभालाई पुर्नस्थापना गर्नुपर्छ भन्ने शक्तिहरुले जिम्मा लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बुद्धिजिवी, डा. मोहनीलाल भुसाल, प्राध्यापक झपेन्द्रश्वर भुसाल लगायतले अन्तरक्रियामा भाग लिदै राजनीतिक दलका नेताहरुको इमान्दारित आवश्यक भएको बताउनुभयो ।
सहभागीहरुले राजनीतिक अस्थिरता राजनीतिक दलकै कारणले निम्तिएको भन्दै राजनीतिक दलका नेताहरुप्रति आक्रोश पोखेका थिए ।
https://www.youtube.com/watch?v=6wkFPGoGudo&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=1
