हुप्सेकोट स्वास्थ्य चौकीमा पुरुषले मात्रै गरे स्थायी बन्ध्याकरण
हुप्सेकोट स्वास्थ्य चौकीमा आज भएको स्थायी बन्ध्याकरण शिविरमा ७ जना पुरुषले भ्यासेक्टोमी सेवा लिएका छन् । आजको शिविरमा सबै भ्यासेक्टोमीका सेवाग्राहीले सेवा लिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । योसँगै अहिलेसम्म १ सय २४ जनाले स्थायी परिवार नियोजन गरेको स्वास्थ्य कार्यालय नवलपुर परिवार नियोजन सुपरभाईजर बीरबहादुर श्रेष्ठले जानकारी दिए । जसमा ५७ जना पुरुष र ६७ जना महिलाले सेवा लिएका छन् ।
यस्तै आजको शिविरमा सेवा लिन आएका ८ जना सेवाग्राहीमध्ये १ जना महिलाले भने अस्थायी परिवार नियोजनको साधन प्रयोग गरेको स्वास्थ्य कार्यालय नवलपुरका पब्लिक हेल्थ नर्स भूमिका निरौलाले जानकारी दिईन् । ती महिलाले परिवार नियोजनको अस्थायी साधन ईम्प्लाण्ट लिएकी छन् ।यसअघि विनयी त्रिवेणीको दुम्किवासमा भएको शिविरमा १७ जना महिलाले अस्थायी साधन लिएका थिए ।
स्थानीय तहहरुको समन्वय र सुनौलो परिवार नेपाल (मेरी स्टोप्स नेपाल) काठमाण्डौंको प्राविधिक सहयोगमा जिल्लाका आठवटै पालिकामा माघ २९ सम्म चल्ने शिविर बिहीवार हुप्सेकोट गाउँपालिकाको देउराली स्वास्थ्य चौकीमा हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।