कावासोतीको पोखरी तालमा शहिद लखन थापाको मुर्ती स्थापना गरिने
शारदा झेडी मगर –
नवलपुर । गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले नेपाली जनताको मुक्तिका लागि एवं प्रजातन्त्र र लोकतन्त्रका स्थापनाका लागि आफ्नो ज्यानको आहुती दिने प्रथम शहिद लखन थापाको सम्मानार्थ सवै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् ।
२०७२ सालको संबिधानले सहिद लखन थापालाई प्रथम सहिदका रुपमा उल्लेख गरेको भए तापनि अझैसम्म गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा सहित अन्य चार जना शहिदहरुको पंक्तिमा राखी बिशेष गरि पांचजना शहिदको नाम सरकारले तोक्न आनाकानी गरेको बताए ।
आगामी फाल्गुण २ गते कावासोती नगरपालिकाको वार्ड नं १ मा रहेको पोखरी तालमा प्रथम शहिद लखन थापाको शालिक स्थापनार्थ आर्थिक संकलन लगायतका छलफल स्वरुप आयोजना गरिएको भेलामा उनले त्यो कुरा बताएका हुन् ।
मुर्ती निर्माण समितिका संयोजक समेत रहनुभएका गाहाले शहिद लखन थापालाई फाल्गुण २ गते खिर्राको रुखमा झुण्ड्याएको सम्झना स्वरुप सोही दिन मगर संस्कृती समेतलाई समेटेर उनको जिवनी र योगदानलाई स्मरण गर्दै कार्यक्रम गरिने बताए ।
यसैगरी कार्यक्रममा मुर्ती निर्माण समिति सदस्य कर्णेल धनबहादुर मास्की रानामगरले मगर संघले मात्र सम्पुर्ण मगर एकताका लागि पहलकदमी चाल्दै आएको बताए ।
कार्यक्रममा लाङघाली एकता समाजका अध्यक्ष रामबहादुर थापा लगायतका मगर अगुवाहरुले आआफ्नो मन्तब्य गरेका थिए ।
कार्यक्रम मुर्ती निर्माण समितिकी सचिव देवीसरा पुलामीले सञ्चालन गरेकी थिइन् ।
