लुम्बिनी चिनी उद्योग पुन संचालनमा

723







गोपी ज्ञवाली –


नवलपरासी । पछिल्लो दुई वर्षदेखि बन्द अवस्थामा रहेको पश्चिम नवलपरासीको सुनवल स्थित लुम्बिनी चिनी उद्योग पुनः संचालनमा आएको छ ।


चिनी उद्योगका संचालक मनिष कुमार अग्रवालको अचानक भएको मृत्यु र अग्रवाल परिवारमा अंशबन्डाको विवादले गर्दा पछिल्लो दुई वर्ष देखी बन्द अवस्थामा रहेको लुम्बिनी चिनी उद्योग शनिवारदेखि संचालनमा आएको छ ।

अग्रवाल परिवारको अंशबण्डा पछि लुम्बिनी चिनी उद्योग मनिषका दाई मनोज अग्रवालको अंशमा परे पछि उद्योग संचालनको तयारी भएको लुम्बिनी चिनी उद्योगका प्रबन्ध निर्देशक विजय गुप्ताले बताए ।

उद्योग संचालन पुर्व गत वर्षको उखु किसानहरुको तीर्न बाँकी आठ करोड रुपियाँ रकम पनि उद्योगले किसानहरुको खातामा पठाई दिएको उद्योगका प्रबन्ध निर्देशक गुप्ताले बताए ।

उद्योग संचालन पूर्व स्थानीय तहसंग भएको सहमति अनुसार उद्योगले उद्योग परिषर सरसफाई, उद्योगको फोहर पदार्थ स्थानिय सोमनाथ खोलामा फाल्न नपाईने, सायरन बन्द गर्नु पर्ने, उद्योगमा ईन्धनको रुपमा धानको भुस जलाउन नपाईने लगाएतका सहमती कायम गर्ने प्रतिबद्धता सहित उद्योग संचालनमा आएको बताईएको छ ।

दुई हप्ता पहिला उद्योगी मनोज कुमार अग्रवाललाई किसानको उखुको रकम नतिरेको भन्दै विरगंजबाट गिरफतार गरी नवलपरासी ल्याएको थियो । प्रशासनले नियन्त्रणमा लिए पछि उद्योगपति मनोज अग्रवालले एक हप्ता भित्रमा उखु किसानहरुको बाँकी रकम भुक्तानी गर्ने लिखित सहमति गरिएको बताए ।

उखुको सिजन सकिन लाग्दा संचालनमा आएको चिनी उद्योग कति सम्म संचालन हुने भन्ने अहिले बताउन सकिने अवश्था छैन ।
चिनी उद्योगहरुले उखु किसानहरुको भुगतानी समयमा नदिए पछि पश्चिम नवलपरासीका अधिकांश उखु किसानहरुले पछिल्ला वर्षहरुमा क्रमश उखुको खेती नै गर्न छाडदै गएका छन ।

पश्चिम नवलपरासीको कुडियामा रहेको ईन्दीरा सुगर मिलले पनि किसानको ५ करोड रुपियाँ भुगतानी गर्न बाँकी रहेको छ । ईन्दीरा सुगर मिलका मालिक राकेश अग्रवाल अहिले सम्पर्कमा नरहेकोे नवलपरासीका प्रमुख जिल्ला अधिकारी पाठकले बताए ।

पश्चिम नवलपरासीमा १२ सय उखु किसानहरुले दुई चिनी उद्योगबाट गरि १३ करोड रुपियाँ भुगतानी पाउन बाँकी रहेको छ ।

नेपाल सरकारको करिब १० करोड र चीन सरकारको ३० करोड गरि जम्मा ४० करोड रुपियाँको लागतमा २०४६ सालमा स्थापना भएको सुनवल नगरपालिकामा स्थित लुम्बिनी चिनी कारखाना २०६२ सालमा नेपाल सरकारले निजीकरण गर्दै मनिषकुमार अग्रवाललाई जम्मा ७ करोड रुपैयाँमा दिईएको थियो ।

प्रत्येक वर्षको एक सिजनमा १२ लाख क्वीन्टल उखु क्रसिङ्ग गर्ने क्षमता भएको यस लुम्बिनी उद्योगमा उद्योग संचालन हुने समयमा ४ सय भन्दा बढि कर्मचारीले रोजगारी पाएका थिए ।


You might also like
Loading...