जनयुद्ध दिवसमा जनवादी क्रान्तिकाे तयारी




काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य‘किरण’ले क्रान्तिकारी माओवादी पार्टी नयाँ जनवादी क्रान्तिमा जुटेकाे बताएका छन् ।

२६ औं जनयुद्ध दिवसको शुभकामना दिदै किरणले आजसम्म सर्वहारा वर्गले विश्वभरि आर्जन गरेका क्रान्तिका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट पाठ सिक्दै र माक्र्सवाद– लेनिनवाद– माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले प्रयोग गर्दै नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको बताएका हुन् ।




उनले क्रान्तिकारी पार्टीहरूलाई गाेलबद्ध हुन पनि आव्हान गरेका छन् ।

वक्तव्यमा भनिएकाे छ – महान जनयुद्धको छब्बिसौं वार्षिकोत्सवको यस अवसरमा हाम्रो पार्टी स्वतन्त्र रुपमा क्रियाशील क्रान्तिकारी समूहहरु, अहिलेसम्म पनि भ्रमबस संशोधनवादी पार्टीमा रहेका क्रान्तिकारीहरु र स्वतन्त्र व्यक्तित्वहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न विशेष आह्वान गर्दछ ।

वक्तव्यमा नेपाली क्रान्तिको प्रक्रियामा सहादत प्राप्त गर्ने वीर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वेपत्ता र घाइते तथा अपाङ्ग योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गरिएको छ । साथै, यस अवसरमा नेपाली जनताले देखाएको त्याग, वीरता तथा बलिदानका कीर्तिमानहरुको संस्मरण गरेका छन् ।

त्यसैगरी वक्तव्यमा झापा आन्दोलन र महान जनयुद्धको क्रान्तिकारी विरासतलाई साम्राज्यवाद र विस्तारवादको पोल्टामा सुम्पेर तिनका नेताहरु आज सत्ता एवम् सुविधामा घोडेभागका लागि सडकमा भिडिरहेकाेले देश असफल सिद्ध भएकाे उल्लेख गर्लै यसले नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरु सबै असफल भएको मात्र होइन, नेपालमा नयाँ जनवादी क्रान्ति अपरिहार्य बनेको दावी गरिएकाे छ ।यस्तो छ वक्तव्यको पूर्णपाठ ः
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले विभिन्न कार्यक्रमहरु सहित आज देशभर महान जनयुद्धको छब्बिसौं वार्षिकोत्सव मनाउन गइरहेको छ । यस ऐतिहासिक दिनमा हामी सर्वप्रथम नेपाली क्रान्तिको प्रक्रियामा सहादत प्राप्त गर्ने वीर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं, वेपत्ता र घाइते तथा अपाङ्ग योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं । साथै, यस अवसरमा हामी नेपाली जनताले देखाएको त्याग, वीरता तथा बलिदानका कीर्तिमानहरुको संस्मरण गर्दै सहिद एवम् बेपत्ता योद्धाका परिवारजन, सम्पूर्ण पार्टी कमरेडहरु, समर्थक तथा सुभेक्षुकहरु, आदरणीय जनसमुदाय र भाइचारा पार्टीहरु तथा विश्व सर्वहारा वर्गप्रति हार्दिक शुभकामना सहित लाल अभिवादन गर्दछौं ।
आन्तरिक रुपमा दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवाद र बाह्य रुपमा साम्राज्यवादी तथा भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादमा फड्का हान्ने उद्देश्य राखी आजको पच्चिस वर्ष पहिले तत्कालीन नेकपा (माओवादी)ले नेपालमा जनयुद्धको उद्घोष गरेको थियो । उक्त जनयुद्ध छोटै समयमा देशका विशाल ग्रामीण भूभागमा आधार इलाकाहरुको स्थापना र जनसरकारहरुको गठन गर्दै विश्वभरि सर्वहारा क्रान्तिको नयाँ सन्देश प्रवाहित गर्न सफल भएको थियो । तर, पार्टीको मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन तथा गद्दारीका कारण अहिले जनयुद्ध इतिहास बनेको छ, क्रान्ति प्रतिक्रान्तिमा बदलिएको छ । त्यति मात्र होइन, झापा आन्दोलन र महान जनयुद्धको क्रान्तिकारी विरासतलाई साम्राज्यवाद र विस्तारवादको पोल्टामा सुम्पेर तिनका नेताहरु आज सत्ता एवम् सुविधामा घोडेभागका लागि सडकमा भिडिरहेका छन् र देश असफल सिद्ध हुँदैछ । यसले नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरु सबै असफल भएको मात्र होइन, नेपालमा नयाँ जनवादी क्रान्ति अपरिहार्य बनेको तथ्य स्पष्ट गर्दछ ।
आज नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ, तर क्रान्तिको प्रक्रिया रोकिएको छैन । हाम्रो पार्टी आजसम्म सर्वहारा वर्गले विश्वभरि आर्जन गरेका क्रान्तिका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट पाठ सिक्दै र माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले प्रयोग गर्दै नयाँ जनवादी क्रान्तिको तयारीमा जुटेको छ । महान जनयुद्धको छब्बिसौं वार्षिकोत्सवको यस अवसरमा हाम्रो पार्टी स्वतन्त्र रुपमा क्रियाशील क्रान्तिकारी समूहहरु, अहिलेसम्म पनि भ्रमबस संशोधनवादी पार्टीमा रहेका क्रान्तिकारीहरु र स्वतन्त्र व्यक्तित्वहरुलाई क्रान्तिको प्रक्रियामा गोलवन्द भई अगाडि बढ्न विशेष आह्वान गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित !
मिति ः २०७७ फागुन १



सम्बन्धित
Loading...