क्रान्तिकारी माओवादीले दियाे जनक्रान्तिको उद्घोष गर्ने चेतावनी
जनयुद्ध दिवसकाे अवसर पारेर क्रान्तिकारी माओवादीले जनक्रान्तिकाे उद्घाेष गर्ने चेतावनी दिएका छन् ।
काठमाडाैंकाे जनसभालाई सम्बाेद्धन गर्दै क्रान्तिकारी माओवादीका नेताहरूले यस्ताे चेतावनी दिएका हुन् ।
२६ औं जनयुद्ध दिवसको अवसरमा पार्टीको ३ नं. प्रदेशले आयोजना गरेको युवा मार्चपास तथा जनसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले जनयुद्धकाे बत्ति ननिभेको बताए ।
उनले जनयुद्धको झण्डा नगिरेको बताउँदै क्रान्ति जारी रहेकाे बताए ।
मार्चपास तथा सभालाई देजमोका अध्यक्ष सीपी गजुरेल, स्थायी समिति सदस्य रामसिंह श्रीस, पार्टी पीवीएम तथा सहिद तथा वेपत्ता योद्धा परिवार समाजका संयोजक दिनेश शर्मा सागर, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ओम गुरुङ, अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष अम्बिका मुडभरी, क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी) का स्थाीय समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले नेपालमा फेरि चाँडै जनक्रान्तिको उद्घोष गर्ने चेतावनी दिए।
गजुरेलले प्रचण्डहरुले जनयुद्धलाई सूर्य चिन्हसँग बिक्री गरी खाएको आरोप लगाए।
संसद विघटन गरेर ओलीले जनताका विरुद्ध ठुलो अपराध गरेका चर्चा गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा, संघीय जनगणतन्त्र र जनताका जनजीविका लागि अब मुलुकमा नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको रुपमा जनयुद्ध प्रकट हुने दावी गरेे।
त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीसले नयाँ जनवादी क्रान्तिका लागि फेरि जनताको युद्ध हुनुपर्ने बताए।
त्यस्तै सहिद तथा वेपत्ता योद्धा परिवार समाजका संयोजक दिनेश शर्मा सागरले संसदीय व्यवस्थाका लागि सहिदहरुले जनयुद्धमा रगत बगाएको नभएकाे जिकिर गर्दै सहिदकाे रगतकाे अवमूल्यन गरेकाे बताए ।
सभामा परिणत हुनुपूर्व शान्तिबाटिका बाट सुरु भएको युवा मार्चपास पुरानो बसपार्क, सहिद गेट सुन्धरा, वायुसेवा निगम, न्यूरोड, विशाल बजार, असन इन्द्रचोक हुँदै पुनः शान्तिबाटिमा आएर सभामा परिणत भएको थियो ।
क्रान्तिकारी माओवादीले ३ नं. प्रदेशका अधिकांश जिल्लाबाट युवाहरुलाई केन्द्रित गरेको थियो ।
जनयुद्ध जिन्दावाद, वीर अमर सहिदहरु लालसलाम, नयाँ जनवादी क्रान्ति जारी छ, संसदीय व्यवस्थाको विकल्प संघीय जनगणतन्त्र जस्ता नाराहरु लगाइएका थिए ।
