प्रधानमन्त्रीले भेट्न नमानेपछि माओवादी युवा लिगले बुझाए सडकबाटै ज्ञापनपत्र




नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने समय दिन इन्कार गरेपछि आइतबार बिहान हुलाकमार्फत उनको कार्यालयलाई ज्ञापनपत्र पठाएका छन् ।

प्रधानमन्त्री रोजगार क्रार्यक्रम केबल उनका कार्यकर्ता संरक्षण गर्ने आधार भएकाले सबै युवाहरुलाई समानरुपले रोजगारी तथा बेरोजगार भत्ताको व्यवस्था गर्न आग्रहसहित राष्ट्रियता जनतन्त्रका विषय समेटेर ६८ बुँदे ज्ञापनपत्र बुझाएको पत्रकार सम्मेलनमा बताएका छन् ।




विगत लामो समयदेखि लिगले प्रम ओलीको समय माग्दा पनि उनले भेट्ने समय नदिएको भन्दै फागुन १ गते अर्थात जनयुद्ध दिवसको अवसरमा सो पार्टीको कार्यक्रममा पनि सो ज्ञापनपत्र सार्वजनिक गरेका थिए । आइतबार राजधानीको संवाद डबलीमा ज्ञापनपत्रको विषयमा लिगले पत्रकार सम्मलेन गर्दै सोबारे जानकारी गरेको हो ।

लिगका अध्यक्ष अमिर महर्जनले प्रधानमन्त्री ओलीले समय नदिएकोप्रति रोष व्यक्त गर्दै माओवादीप्रति अनुद्दार बन्ने ओलीले आफ्नो ब्यबहार नसुधारे सडकबाटै उनलाई गिराउने चेतावनीसमेत दिएका छन् । प्रधानमन्त्रीको कुर्सीमा बसेर सिमित नेता कार्यकर्ताको सेवक बनेको आरोप लगाउँदै भने, “उहाँका एस म्यानहरुले भट्न नदिएका हुन वा उहाँ आफैं पूर्वाग्रह साँधने योजनाले हो, जे होस अब उहाँलाई सडकबाटै ज्ञापन पत्र पठाएका छौं ।”

देशमा हरेक वर्ष करिब ५ लाख युवा जन–शक्ति उत्पादन हुने र निकै थोरैले मात्र लोकसेवा आयोग, सरकारी रोजगारी कार्यक्रम तथा वैदेशिक रोजगारमा सक्षम हुने भएकोले सबैलाई रोजगारीको व्यवस्था गर्नुपर्ने र बेरोजगारहरुलाई भत्तको वातावरण मिलाउन माग गरिएको छ ।

त्यसैगरी कालापानी, लिपुलेक, लिम्पियाधुराको नेपाली भूमि फिर्ता ल्याउन पहल गर्नुपर्ने, एमसीसी लगायतका राष्ट्रघाती परियोजना अभिलम्ब खारेज गर्नुपर्ने लगायतका मागहरु पनि ज्ञापन पत्रमा राखिएको छ । लिगले यदि देश र जनताको नामम राष्ट्रघाती कामहरु बढ्दै गए आफूहरु बिद्रोहमा जान बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

कार्यक्रमको अध्यक्षता लिगका अध्यक्ष अमिर महर्जनले गरेका थिए, ज्ञापन पत्रलाई उपाध्यक्ष केशव ढलकोटीले पढेर सुनाएका थिए भने सञ्चालन लिगका महासचिव दिलबहादुर कठायतले गरेका थिए, कोषाध्यक्ष ज्ञानु खतिवडाको पनि पत्रकार सम्मेलनमा उपस्थिति थियो ।



सम्बन्धित
Loading...