रणनैतिक संयुक्त मोर्चाद्वारा जनसभा तयारी तीब्र
रवि पाण्डेय –
बुटवल ः चार कम्युनिष्ट पार्टीको रणनैतिक संयुक्त मोर्चाले फागुन ६ गते बुटवलमा आयोजना गरेको जनसभाको तयारी तीब्र बनाएको छ ।
मोर्चा आबद्ध नेकपा (क्रान्तिकारी माओवादी) नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेकपा विश्वभक्त दुलाल आहुति नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र ऋषि कट्टेल नेतृत्वको नेकपाले आफ्ना तयारी तीब्र बनाएका हुन ।
सो क्रममा सोमवार मोर्चाले आवद्ध दलसंगको छलफल अन्तरक्रियालाई तीब्र बनाउदैं एंव जनप्रचारका कार्यक्रमहरु ब्यवस्थित गरेको क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य तथा प्रदेश ईञ्चार्ज प्रेम सुवेदीले जानकारी दिनुभयो । क्रान्तिकारी माओवादीका अर्का पोलिटब्युरो सदस्य भुपेन्द्र न्यौपानेले संसदीय ब्यवस्थाको बिरुद्ध हुने कार्यक्रममा ब्यापक जनपरिचालन गर्ने बताउनुभयो ।
ऋषि कट्टेल नेतृत्वका नेकपाका केन्द्रीय सहसंयोजक अम्बिका थैबले नयाँ जनवादी कार्यक्रम मान्नेहरुबीच मोर्चा बनेको हुदाँ यसले नयाँ आशा जगाएकोले देशैभरका कार्यक्रम सफल हुने विश्वास ब्यक्त गर्नुभयो ।
त्यस्तै आहूति नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकुमार हिममाङले ६ गते लुम्बिनी प्रदेशस्तरीय रणनैतिक मोर्चा घोषणा गर्ने तयारी भएको बताउनुभयो ।
नयाँ जनवादी कार्यक्रम र बैज्ञानिक समाजवादको रणनीतिका एक भएका क्रान्तिकारी चार पार्टीले माघ २९ गते रणनैतिक संयुक्त मोर्चा बनाएपछि यी दलका नेता कार्यकर्ता उत्साहित भएका छन् ।
संसद बिघटन पछिको घटनालाई संसदीय ब्यवस्थाको असफलता भन्दै आएका चार कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता बैचारिक रुपमा समेत नजिक हुन थालेका छन् ।
रणनैतिक मोर्चा हुदैं पार्टी एकता सम्म गर्ने यी चार पार्टी मध्ये विप्लव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको छ ।
यो प्रतिबन्धलाई चारै दलले गणतन्त्र प्राप्ति पछि पनि दल माथि प्रतिबन्ध लगाइएको उल्लेख गर्दै असंम्बैधानिक भन्दै आएका छन् ।
बुटवलको कार्यक्रम सफल बनाउन मोर्चा आबद्ध दलका जनवर्गीय मोर्चा संगठनका कार्यक्रम समेत तीब्र बनाइएको क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष टेक मास्की बताउनुहुन्छ ।
युवा,बिद्यार्थी,महिला, किसान, मजदुर, पत्रकारका कार्यक्रमहरु तीब्र बनाइएको अखिल नेपाल क्रािन्तकारी टे«ड युनियन महासंघका लुम्बिनी प्रदेश संयोजक राजु भुजेलले बताउनुभयो ।
क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले कार्यक्रमलाई सफल बनाउन ब्यापक जनपरिचालन गर्ने तयारी गरेको सेक्रेटरी छविलाल खरेलले जानकारी दिनुभयो । कार्यक्रमको तयारीकै क्रममा सोमवार जिल्ला सचिवालयको बैठक बसेर कार्यबिभाजन गरेको उहाँले बताउनुभयो ।
https://www.youtube.com/watch?v=gCueTzsEtis&t=464s
