बजार नपाए पछि किसानले नगरपालिकामै फालिदिए टमाटर





पप्पु रेग्मी –

नवलपरासी । गोलभेडाले बजार नपाएपछि पश्चिम नवलपरासीको बर्दघाटका किसानहरुले बर्दघाट नगरपालिका परिसर भित्रै टमाटर फालिदिएका छन् ।




पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका किसानहरुले आफूले उत्पादन गरेको टमाटर नगरपालिकाको कार्यालय भित्रै फालेर बिरोध गरेका हुन् ।

स्थानीय किसानहरुको उत्पादनले बजार नपाउने र भारतीय आयातित टमाटर खुल्लेआम विक्री भएको भन्दै उनीहरुले नगरपालिकाको गेटदेखि प्रत्येक कोठा र गल्लीमा टमाटर फालेर बिरोध जनाएको स्थानीय किसान निलकण्ठ नेपालले बताए ।

किसानहरुले नगरप्रमुख धिरज शर्मा बस्याललाई ज्ञापन पत्र बुझाउनका लागि नगर प्रमुखको उपस्थित हुनु पर्ने माग गरे पनि नगर प्रमुख शर्मा बस्याल भने उपस्थित भएनन् ।

नगर प्रमुख ज्ञापनपत्र बुझ्न नआएको भन्दै किसानहरु थप आक्रोसित हुँदै नारावाजी गरेका थिए । किसानहरुले नगर प्रमुख बस्यालको कार्यकक्षमा पनि टमाटर फाल्न खोज्दा नगर प्रहरीले रोक्ने प्रयत्न गरेको थियो ।

किसानहरुले बिरोधका क्रममा दुईवटा गाडीमा ३० क्विण्टल टमाटर ल्याएर नगरपालिकाको गेट देखि प्रत्येक कोठा र गल्लीमा फालेका हुन् ।


अहिलेको बजार मूल्य अनुसार ३० हजार मुल्य बराबरको टमाटर बर्दघाट नगरपालिका वडा नं। १४ र ७ का किसानहरुले फालेको बताएका छन ।

किसानको भिडलाई नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का वडा अध्यक्ष रविन्द्र विक्रम हमालले सम्बोधन गर्दै किसानहरु आन्दोलित हुने स्थिति सिर्जना हुनु दुखद भएको भन्दै किसानहरु मर्कामा परेकोले र आफु पनि किसाननै भएकोले किसानहरु संग संगै रहने बताएका थिए ।

आन्दोलनरत किसानहरुलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नगर ईञ्चार्ज रुद्र प्रकास उपाले आफु किसान आन्दोलनको पक्षमा रहेको र आन्दोलन प्रति समर्थन रहेको बताए । उनले किसानहरुको उत्पादनको बजारीकरणका लागि जिम्मेवार बन्न गरपालिकालाई आग्रह गरेका थिए ।

भुईमा पोखिएको टमाटर नभई किसानहरुले गरेको मिहिनेत र पसिना बगेको बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताए । नगरपालिकाको तर्फबाट कुनै सुनुवाई नभए थप कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।




सम्बन्धित
Loading...