कावासोतीमा प्याराग्लाईडिङको परीक्षण उडान हुने
नवलपुर, ५ फागुन –
पर्यटन क्षेत्रको विकास गर्नको लागि विहिबार (पाmगुन ६ गते) कावासोती नगरपालिका वडा नं. १ बालुवाडाँडाबाट प्याराग्लाईडिङको परीक्षण उडान हुने भएको छ ।
स्थानीय वालुवाडाडा पर्यटन विकास यूवा सञ्जालको समन्वयमा पोखरा स्थित क्लाउडवेश प्याराग्लाईडिङ कम्पनीले वालुवाडाडाबाट परीक्षण उडान गर्न लागेको हो ।
कम्पनीले विहिबार विहान १० वजेदेखि दिउसो ४ बजेसम्म वालुवाडाडादेखि कावासोती नगरपालिकाको वडा नं. १, ५ र ६ मा रहेका विभिन्न खेलमैदानमा उत्रिनेगरी उडानको परीक्षण उडान गर्ने यूवा सञ्जालका सदस्य तथा स्थानीय पर्यटन व्यवसायी दिपक सिग्देलले जानकारी दिए ।
प्याराग्लाईडिङ कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरण काठमाण्डौंबाट विहिबार देखि फागुन ११ गते सम्मलाई उडानको अनुमति लिएकोछ । बालुवाडाडाबाट उडेका ग्लाईडरहरु २ हजार ५ सय ३८ फिट सम्मको उचाईमा उड्न पाउनेगरी अनुमति पाएको यूवा सञ्जालका संयोजक ईमबहादुर राना मगरले बताए । प्याराग्लाईडिङ उडाउन प्रस्ताव गरिएको वालुवाडाडा समुन्द्री सतहदेखि ९६४ मीटरको उचाईमा रहेको छ ।
प्याराग्लाईडिङ उडानको लागि वालुवाडाडा उपयुक्त रहेको आफुहरुको प्रारम्भिक सर्भेले जनाएको पर्यटन व्यवसायी सिग्देलले वताए । प्याराग्लाईडिङको परीक्षण उडान पश्चात फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा कावासोती नगरपालिकाको आयोजनामा उडानको उद्घाटन गरिने नगरपालिकाले जनाएको छ ।
