बुटवलबाट गरे वैद्य–विप्लव लगायत चार दलले क्रान्तिको उद्द्घोष
रवि पाण्डेय –
बुटवल । नेकपा (क्रान्तिकारी माओवादी ) सहित चारवटा क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्मिलित रणनैतिक संयुक्त मोर्चाका नेताहरुले संसदीय व्यवस्थाका विरुद्ध क्रान्तिको झण्डा उठाउने उद्घोष गरेका छन् ।
विहीवार रुपन्देहीको बुटवलस्थित ट्राफिक चोकमा आयोजित जनसभामा बोल्दै उनीहरुले संसदीय व्यवस्था जनताको व्यवस्था नभई दलालहरुको भएको भन्दैं यसको अन्त्यका लागि क्रान्तिको झण्डा उठाउंने उद्घोष गरे ।
बिभिन्न षडयन्त्र र घुसपैठलाई चिर्दै सम्पन्न भएको कार्यक्रममा मोर्चा आबद्ध नेकपा (क्रान्तिकारी माओवादी) नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेकपा, विश्वभक्त दुलाल आहुति नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र ऋषि कट्टेल नेतृत्वको नेकपाका नेताहरुले अबको बिकल्प जनगणतन्त्र/बैज्ञानिक समाजवाद हुने दावी गरे ।
कार्यक्रममा बोल्दैं नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले प्रतिगामी संसदीय व्यवस्था खतम गरि संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि संघर्षको आंधीबेहरी ल्याउंनुपर्नेमा जोड दिए ।

उनले कम्युनिष्टको नाममा मुलुकमा दलाल संसदीय व्यवस्था हावी रहेको भन्दैं यसको अन्त्यका लागि क्रान्तिकारी कम्युनिष्टहरु एकीकृत र धु्रबीकृत हुनुपर्ने आवश्यकता औल्याए ।
प्रधानमन्त्री केपी ओली प्रतिगामी र प्रचण्ड–नेपाल यथास्थितिवादी सोचका साथ अगाडि बढेको भन्दैं निर्वाचन वा संसद पुर्नस्थापनाबाट मुलुकले निकास नपाउंने उनको भनाई थियो ।
मोर्चाका केन्द्रीय सदस्य समेत रहेका उहाँले विप्लवमाथिको प्रतिवन्ध हटाउनुपर्ने बताउंदैं विप्लवका राजनैतिक समस्या दमनबाट होइन राजनैतिक रुपमैं हल गर्न आग्रह गरे ।
त्यस्तै नेकपाका संयोजक ऋषिराम कट्टेलले सरकारले विप्लवमाथि लगाएको प्रतिवन्ध जनताले खारेज गरेको बताए ।
संसदीय व्यवस्था रहेसम्म मुलुकले निकास नपाउने बताउंदैं उनले कम्युनिष्टको नाममा ओली–प्रचण्ड ठग भएको टिप्पणी गरे ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल आहुतिले मुलुकमा व्यक्तिमा होइन दलाल पूजिवादी संसदीय व्यवस्थामा संकट उत्पन्न भएको बताए ।
रणनैतिक संयुक्त मोर्चाका सदस्य भेषराज भुसालले जनताले क्रान्ति र विकल्प खोजेको भन्दैं ओली र प्रचण्डबाट त्यो संभव नभएको बताए ।
अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा.ओम गुरुङले कम्युनिष्टको नाममा ओली र प्रचण्डले जनतामा भ्रममा पारेको भन्दैं संसदीय व्यवस्थाका विरुद्ध उत्पीडित जाति–समुदाय क्रान्तिमा गोलवन्द हुन आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीले जनमुक्ति सेना बुझाएकै दिनबाट प्रतिगमन भएको भन्दै विप्लवलाई सडकमा आउन आब्हान गरे ।
वामपन्थी नेता शसिधर भण्डारी,माक्सवादी विचार मञ्चका सचिव बिनबहादुर कुंवर,नागरिक समाजका पदमबहादुर कार्की लगायतले बोल्दैं संसदीय व्यवस्थाको विकल्पमा जानुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम नेकपा क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश समितिका सचिव भुपेन्द्र न्यौपानेको अध्यक्षता,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकुमार हिममाङको सञ्चालन तथा नेकपाका सहसंयोजक अम्बिका थैबको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा कान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी, धनेश्वर पोखरेल लगायत मोर्चाका नेताहरु समेत सहभागी रहेको थियो ।
कार्यक्रममा जनकलाकारहरुले नेतृ तथा थारु संस्कृतिको झाकी प्रर्दशन गरेका थिए ।
नयाँ जनवादी कार्यक्रम र बैज्ञानिक समाजवादको रणनीतिका एक भएका यी चार पार्टीले माघ २९ गते रणनैतिक संयुक्त मोर्चा बनाएपछि यी दलका नेता कार्यकर्ता उत्साहित भएका छन् ।
https://www.youtube.com/watch?v=RpPRN57IAm0&t=6s



