होङ्सीमा डिजेल र कोइलाको भर

172












नवलपरासी —


वैदेशिक लगानीमा निर्मित नेपालकै ठूलो होङ्सी सिमेन्ट कारखानामा मागअनुसारको विद्युत् आपूर्ति हुन नसक्दा उत्पादन लागत बढेको छ । अहिले दैनिक ४५ सय टन क्षमतामा सिमेन्ट उत्पादन भइरहेको छ । तर पर्याप्त विद्युत् आपूर्ति अभावमा प्रतिबोरा करिब १५ रुपैयाँ उत्पादन लागत बढेको छ । मागअनुसारको बिजुली नपाएका कारण डिजेल र कोइलाबाट विद्युत् उत्पादन गरेर कारखाना चलाउनुपरेकाले लागत बढेको कारखानाले जनाएको छ ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको उद्योगको कारखानामा दैनिक कम्तीमा ६० हजार लिटर डिजेल खपत हुने गरेको छ । वैदेशिक लगानीका ठूला उद्योगमा बिजुली, सडक, पानीको आपूर्ति नेपाल सरकारले गर्नुपर्ने भए पनि होङ्सीले त्यसअनुसारको सुविधा नपाएको गुनासो गरेको छ । कारखानाले सिमेन्ट र क्लिंकर उत्पादन गर्दै आएको छ ।

कारखानाबाट उत्पादित ओपीसी सिमेन्ट ६ सय रुपैयाँ र पीपीसी सिमेन्ट ५ सय रुपैयाँमा बिक्री हुन्छ । यो अरूको तुलनामा प्रतिबोरा ५० रुपैयाँसम्म सस्तो हो । मागअनुसारको बिजुली आपूर्ति हुन सके बिक्री मूल्यमा प्रतिबोरा कम्तीमा ५० रुपैयाँ सस्तोमा बेच्न सकिने कारखानाको भनाइ छ । ‘पर्याप्त बिजुली आपूर्ति हुन सके अहिलेको बिक्री मूल्यको तुलनामा सस्तोमा सिमेन्ट उपलब्ध हुन्छ,’ होङ्सीका सहायक महाप्रबन्धक जेम्सले भने ।

डिजेलबाट बिजुली उत्पादन गर्दा प्रतियुनिट २३ रुपैयाँ लागत पर्छ । विद्युत् प्राधिकरणबाट लिँदा भने प्रतियुनिट सरदर ८ रुपैयाँ ५५ पैसा पर्न जान्छ । प्राधिकरणले प्रसारण लाइन नभएका कारण बिजुली नदिएको हो । कारखाना परिसरमा बत्ती बाल्ने मात्र बिजुली दिइएको छ । आवश्यक बिजुली आपूर्तिका लागि प्रसारण लाइन निर्माणाधीन छ ।

अहिलेको क्षमतामा उद्योगलाई ५४ मेगावाट बिजुली चाहिन्छ । त्यसका लागि उद्योगले कोइलाबाट १२ मेगावाट र बाँकी डिजेल प्लान्टबाट उत्पादन गर्दै आएको छ । ३६ अर्ब चिनियाँ लगानीको होङ्सीले उत्पादन थालेको दुई वर्ष भएको छ ।



You might also like
Loading...