चितवनमा हात्तीको स्वास्थ्य शिविर गरिने
चितवन- प्राकृतिक कारणले हात्तीको मृत्यु हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले स्वास्थ्य शिविर आयोजना गरिने भएको छ ।
यो वर्ष मात्रै पाँच वटा हात्ती मरेपछि हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठले बताए । निकुञ्जका पोष्ट–पोष्टमा पुगेर यसै साता हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।
अर्को महिना गैँडा गणना गर्ने कार्यक्रम भएकाले त्यसअघि नै शिविर गर्न लागिएको हो ।
शिविरमा हात्तीको विस्तृत स्वास्थ्य परीक्षण हुने उनले बताए । हात्तीलाई प्रत्यक्ष हेरेर अवस्थाको बारेमा बुझिँदै छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकहरु परीक्षणमा सहभागी हुनेछन् ।
