मध्यविन्दुको दुई वडा जोड्न गिरुवारी खोलामा पुल निर्माण सम्झौता




नवलपरासी, १३ फाल्गुन । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको वडा नं. ७ र १३ नम्बर वडा जोड्ने पक्की पुल निर्माण हुने भएको छ । यसका लागि सम्झौता समेत भएको मध्यविन्दु नगरपालिकाले जनाएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा नवलपुरको मध्यविन्दु नगरपालिका–१३ स्थित गिरुवारी खोलामा पक्की पुल निर्माण हुन लागेको मध्यविन्दु–१३ का वडा अध्यक्ष अर्जुन पंगेनीले बताए ।




गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत विनियोजित १४ करोड २६ लाख रुपैया बजेट लागतमा गिरुवारी खोलामा पक्की पुल निर्माणको लागि ठेक्का सम्झौता भएको हो । हिमढुङ्गा एण्ड ठोकर कम्पनी प्रा.लि. संग २१ महिनामा निर्माण सम्पन्न गर्नेगरी पुलको ठेक्का सम्झौता भएको छ ।

मध्यविन्दु–७ तोरीवारी र मध्यविन्दु–१३ मौनाघाट जोड्ने पक्की पुल एक सय ४५ मिटर लाम्बाई र ११ मिटर चौडाईको हुनेछ । पुल निर्माण भएपस्चात मध्यविन्दु–१३ सहित मध्यविन्दु ९, १४ र जिल्लाका पहाडी क्षेत्रका स्थानीय लाभाम्वीत हुनेछन् । चोरमारा हुदै जिल्लाको पहाडी क्षेत्र र पूर्वी पाल्पा सम्म पुग्नेगरी नियमित यातायात सञ्चालनको समेत बाटो खुल्ने मध्यविन्दु–१३ का वडा अध्यक्ष अर्जुन पंगेनीले बताए ।

गिरुवारी खोला उत्तर तर्फ रहेका सबै बस्तीहरु मोहन डाँडा चपाहा, मोटेखोल्सी, छाप्रादि, भेडाबारीका सहितको क्षेत्रका स्थानीयहरुलाई मौनाघाट हुदै यात्रा गर्न सहज हुने स्थानीयले समाल ठकुरी बताए ।

उक्त क्षेत्रमा अहिले झलुङ्गे पुल मात्र रहेको छ । तीन वर्ष अगाडि खोलामा झलुङ्गे पुल निर्माण भएपछि सो क्षेत्रका स्थानीयलाई केही सहज भएपनि साना तथा ठुला सवारीहरु वर्षाको समयमा आवतजावत गर्न कठिनाई हुदै आएका छ ।

वर्षाको समय तिन महिना मैनाघाट क्षेत्रमा सवारी लैजान सक्ने अवस्था नहुने चोरमारा–मैनाघाटका स्थानीय सन्त कुमालले बताए ।
पुल नहुँदा वर्षाको समयमा यस क्षेत्रका स्थानीय बिरामी हुदाँ एम्बुलेन्स सेवा उपयोग गर्न समेत पाउने अवस्थामा रहदैनन् ।

गिरुवारी खोलामा पक्की पुल निर्माण भएपछि मौनाघाट सहित आसपासको क्षेत्रमा बिकास निर्माणले गति लिने विश्वास स्थानीयको छ । विद्यालय तथा उच्च शिक्षाको लागि वर्षाको समयमा चोरमारामा डेरा लिएर बस्नुपर्ने बाध्यता हट्ने देखि शिक्षा, स्वास्थ्य र सडकको स्तरउन्नति हुने वडा अध्यक्ष पंगेनीले बताए ।

मध्यविन्दु–१३ मा अहिले ठुला, माझौला तथा साना कृषि फर्महरु सञ्चालनमा छन् । ति फर्महरुमा उत्पादित कृषि उत्पादनको बजारीकरण, आवश्यक सामाग्रीको ढुवानीमा पुल नहुदाँ समस्या भोग्नुपरेको मध्यविन्दु १३ का कृषक पाण्डव खनालले बताए ।
पुल निर्माणको लागि अहिले छड सहित आवश्यक निर्माण सामाग्रीहरु निर्माण स्थल पुर्याउने काम भइरहेको वडा अध्यक्ष पंगेनीले बताए ।

  • पवित्रा पराजुली / चोरमारा



सम्बन्धित
Loading...