नवलपुरमा ४४ हजारलाई दोस्रो चरणको खोप

कावासोती । नवलपुर जिल्लामा दोस्रो चरणको खोप अन्तरगत ४४ हजार जनालाई कोभिड १९ को खोप लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका खोप फोलक पर्सन खरेलप्रसाद चौधरीका अनुसार नवलपुरमा दोस्रो चरणको खोप अन्तरगत ५५ बर्ष माथि जेष्ठनागरिक, शिक्षक, चालक, सहचालक र पहिलो चरणमा खोप लगाउन छुटेकाहरुलाई खोप लगाइने भएको हो । नवलपुरमा ५० हजार डोज खोप माग गरिए पनि ४४ हजार डोज खोप लगाउने लक्ष्य रहेको उनले बताए। दोस्रो चरणको खोप भने प्रत्येक पालिका पालिकामा लगाइने भएको छ।
नवलपुरमा पहिलो चरण अन्तरगत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी कर्मचारी, पत्रकार, जनप्रतिनिधि गरी ३ हजार १ सय ७० जनालाई कोभिड १९ को खोप लगाइएको थियो ।
यसैबीच नवलपुरमा पालिका स्तरबाट खोप लगाइने भएपछि यहाँका स्वास्थ्य संस्थाका प्रमुख, पालिका स्तरका स्वास्थय शाखाका प्रमुख र प्रत्येक पालिकाका १÷१ जना परिवार नियोजन सुपरभाइजरहरुलाई अभिमुखीकरण गरिएको छ ।
शनिबार कावासोतीमा स्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर निरिक्षक विर बहादुर श्रेष्ठ, मध्यविन्दु अस्पतालका डा. सविता लम्सालले सहजिकरण गरेका थिए ।