प्रधानमन्त्री ओली आज दिनभर पोखरामा
प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरामा कार्यक्रम गर्दैछन् ।
उनले गण्डकी प्रदेश सरकारले निर्माण गर्ने प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्ने कार्यक्रम छ ।
पोखरा–१ नदीपुरमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठान शिलान्यासपछि उनले १ बजे पोखरा सभागृहमा हुने गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने नेकपा ओली समूहका गण्डकी प्रदेश सहइञ्चार्ज किरण गुरूङले जानकारी दिए ।
कार्यकर्ता सम्बोधनपछि ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । सो क्रममा उनले नवौं राष्ट्रिय खेलकुदको तयारीबारे पनि जानकारी लिनेछन् ।
२ बजेसम्म रंगशाला निरीक्षणको कार्यक्रम सकेर प्रदेशका पार्टीका शीर्ष नेताहरूसँग केहीबेर आन्तरिक छलफलपछि ओली आजै साँझ काठमाडौँ फर्कनेछन् ।
