सालका रूख सोत्तर गर्ने काम ठीक होइन : प्रधानमन्त्री ओली
झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै प्रकारका वनको संरक्षण, प्रबन्ध, विकास, प्रतिफललगायत विषयमा ध्यान दिएको बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले सरकारले वन र वातावरण क्षेत्रमा अध्ययन गरेर मात्र कदम चाल्ने बताए ।
परिषद्ले छलफल गरी वन तथा वातावरण क्षेत्रका विविध पक्षमा महत्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, “निष्कर्षले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्नसमेत टेवा पुग्ने विश्वास छ । वन, वातावरण क्षेत्रलाई कसरी अझ बढी व्यवस्थित गर्न सकिन्छ भन्नेमा उपयोगी हुने गरी निष्कर्ष आउनेछ र यसले सरकारलाई नीति निर्माणमा योगदान हुनेछ ।”
सामुदायिक वन उपभोक्ता समूहको योगदान नभएको भए अहिले मुलुकका धेरै वनमा मरुभूमीकरण भइसक्ने जनाउँदै उनले ४५ प्रतिशत वन क्षेत्र मुलुकका लागि गौरवको विषय भएको र यो नेपालका लागि मात्र नभई विश्वका लागि नै महत्वपूर्ण रहेको बताए ।
