रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम
वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ ।
देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड तयार गरे पनि क्रसर व्यवसायीको मनोमानी कायमै छ ।
ठेक्का नलाग्ने समयमा समेत रातारात दोहन हुँदै आएको कालीगण्डकीमा अहिले टेण्डरपश्चात् सम्झौता विपरित दिउँसै ठूला उपकरणकै प्रयोग गरेर दोहन भइरहेको छ तर स्थानीय सरकार र सरोकारवाला निकाय मूकदर्शक बनिरहेका छन् ।अहिले बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण भएको नेपालकै लामो झोलुङ्गे पुलमुनि निर्वाधरूपमा ठूला उपकरणको प्रयोग गरेरै दोहन भइरहेको छ ।
अहिले अवैध नदी दोहनले कालीगण्डकीको धारसमेत परिवर्तन भइरहेको छ । अर्को शालिग्राम शिलासमेत क्रमशः लोप हुने अवस्थामा पुगेको छ । कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम हिन्दू धर्मावलम्बीका लागि निकै बहुमुल्य शिला भए पनि नदी दोहनका कारण हराउँदै जान थालेको पाइएको छ ।
