नवलपुरमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान




अर्जुन अविरल –

कावासोती । प्रचण्ड नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुर जिल्ला कमिटिद्वारा शहीद तथा बेपत्ता परिवारलाई बुधबार कावासोती १६ डण्डामा सम्मान गरेको छ ।




शहीद सप्ताहको अवसरमा जनयुद्ध – जनआन्दोलनका शहीद परिवार, बेपत्ता योद्धा परिवारको भेटघाट तथा सम्मान कार्यक्रम गरिएको हो ।
माओ विधार धाराका कम्युनिष्ट पार्टीहरूले फागुन १४ देखि २१ गतेसम्मलाई शहीद सप्ताहका रूपमा मनाउँदै आएका छन् ।

यसै अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रचण्ड–माधव समूह नवलपुरको आयोजनामा यो कार्यक्रम भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरका जिल्ला सचिव मित्रशरण शर्मा विहानीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सचिवालय सदस्य कृण्ण पौडेल प्रमुख अतिथि रहेका थिए ।

पौडेलले युद्ध र आन्दोलन क्रममा शहादत प्राप्त गर्ने सम्पूर्णमा आफूहरूको सम्मान रहेको बताएका छन् । हिजोका दिनमा देश र राष्ट्रका निम्ति, राष्ट्रियता जोगाउनका निम्ति, गणतन्त्र प्राप्तका निम्ति आफ्नो ज्यान बलिदान दिन तयार हुन्थे तर आजका दिनमा केही मान्छेहरू कुर्ची र सत्ताका निम्ति जस्तो सुकै लडाई लड्न तयार भएको देखिएको उनले बताए ।

कार्यक्रममा शहीद परिवार तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य बालकृण्ण रानाभाट, प्रदेश कमिटि सदस्य धनञ्जय शर्मा, शहिद परिवार मनरूपा कंडेल, शहीद परिवार दमयिन्ती रूचाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमका अध्यक्ष विहानीले जनयुद्धका सम्पूर्ण शहीदहरूलाई राज्यले शहीद घोषणा गरिनसकेकाले अब आफूहरूले पहल गरेर शहीद घोषणा गराई छाड्ने बताएका थिए ।

कार्यक्रममा ३३ जना शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण प्रदेश कमिटि सचिवालय सदस्य धन प्रसाद सापकोटाले गरेका थिए ।



सम्बन्धित
Loading...