नेपाली महिलामाथि भारतीय सुरक्षा बलले दुर्व्यवहार गरेको विषयमा अनुसन्धान हुने भएपछि खुल्यो बेलहिया नाका
नेपाल-भारत सीमानाका रुपन्देहीको बेलहियामा देखिएको समस्या र असमझदारीलाई समाधान गर्न दुवै देशका सुरक्षा प्रमुखहरूबीच समझदारी भएपछि बेलहिया नाका सुचारू भएको छ।
भारतीय सीमा सुरक्षाबल एसएसबीले स्थानीय महिलालाई ज्यादती गरेको भन्दै सीमानाका बेलहियाबासीले बुधबार साँझ सीमानाकामा प्रदर्शन गरेपछि रातिसम्म नाका अवरूद्ध भएको थियो।
भारतीय सुरक्षाकर्मीले चेकिङको बहानामा बेलहियाकी देवी आलेमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै स्थानीयले प्रदर्शन गरेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा भारतको महाराजगञ्जका सुरक्षा प्रमुख डिएम र एमपिबीच छलफल भएको थियो।
छलफलमा महिलामाथि भएको अभद्र व्यवहारका विषयमा आवश्यक अनुसन्धान गर्ने तथा सीमा क्षेत्रमा देखिएको सामान्य समस्यालाई सामान्य ढंगले नै समाधान गर्ने समझदारी भएपछि नाका खुलेको हो।
