कावासोतीमा शुरु भयो राष्ट्रिय परिचय पत्रका लागि अभिलेखीकरण अभियान
- मिनाक्षी कंडेल –
नवलपरासी, २० फागुन । राष्ट्रिय परिचय पत्र अभिलेखीकरण अभियान कावासोती आइपुगेको छ ।
पूर्वी नवलपरासीको गैडाकोट र देवचुली नगरपालिकामा सकेर टोली कावासोती आइपुगेको हो ।
गैडाकोट र देवचुली नगरपालिकामा अभिलेखीकरणको काम सम्पन्न गरी टोली कावासोती नगरपालिकामा आइपुगेको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमायाँ पङगेनी भट्टराईले जानकारी दिए ।
गैडाकोट नगरपालिकामा ४३ हजार १सय ६९ जना मतदातामध्ये ७० प्रतिशत अर्थात ३० हजार २ सय १८ लक्ष्य रहेकामा ३६ हजार ५ सय ७४ जनाको अभिलेखीकरण भएको र देवचुली नगरपालिकामा ३२ हजार ३ सय ८ जना मतदाता रहेकोमा २७ हजार ९ सय ९६ जनाको अभिलेखीकरण भएको पूर्वी नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले जानकारी दिए ।
अहिले कावासोती नगरपालिकाको वडा नं १४, १५, १६ र १७ नं वडाबाट परिचय पत्र अभिलेख राख्ने काम शुरु भएको छ ।
नवलपुरमा ३ महिनामा सबै स्थानीय तहमा काम सक्ने लक्ष्य लिए तापनि अनुमानित भन्दा बढी मतदाता बढ्दा समयावधि बढ्न सक्ने सम्भावना रहेको सहायक प्रमुख जिल्ला अधिकारी थापाले बताए ।
राष्ट्रिय परिचय पत्रका लागि तथ्यांक संकलन भईसकेका पालिकाको छुटेकाहरुका लागि जिल्ला प्रशासन कार्यालयमा तथ्यांक भर्न पाउने व्यवस्था गरिएको छ ।
नेपाल सरकारले डिजिटाईज नेपालको परिकल्पना अनुसार राष्ट्रिय परिचय पत्र लागु गर्ने तयारी गरेका कारण अहिले देशभर राष्ट्रिय परिचय पत्रका लागि अभिलेखिकरण कार्य चलिरहेको छ ।

