पश्चिम नवलपरासीमा कोभिड १९ पछि साना उद्योग दर्ता संख्या बढे





गोपी ज्ञवाली –
नवलपरासी, २२ फागुन । कोविड संक्रमणको अवस्था सामान्य हुदै गएको अवस्थामा पश्चिम नवलपरासीमा साना उद्योग दर्ता गर्ने क्रम ह्वात्तै बढेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीको कार्यालय तथ्यांकका अनुसार कोभिड १९ पछिको पछिल्लो छ महिनामा उद्योगतर्फ मात्र एक हजार एक सय ९४ वटा उद्योग मात्र दर्ता भएका छन भने ब्यापारतर्फ पाँच सय ६५ वटा संस्थाहरु दर्ता भएका छन ।




पछिल्ला वर्षहरुमा आर्थिक वर्षको शुरुका तीन महिनामा हुने उद्योग दर्ता संख्या भन्दा अहिलेको उद्योग दर्ताको प्रतिशत अत्यन्तै माथि रहेको घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीका प्रमुख एवं उद्योग अधिकृत नेत्र प्रसाद भुसालले बताएका छन ।

घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीका प्रमुख भुसालका अनुसार पछिल्लो असोज देखि फागुनसम्मको समयमा अहिलेसम्म कै सबै भन्दा धेरै उद्योग एवं व्यपारिक प्रतिष्ठनहरु दर्ता हुन आएका छन् ।

क्रमश कोभिड १९ को प्रभाव घटदै गएको अवस्थामा उद्योग दर्ता गर्न आउने युवाहरुको संख्यामा क्रमश बढदै गएको छ । पछिल्लो माघदेखि यता दैनिक १० देखि १५ वटा उद्योग एवं व्यापारिक प्रतिष्ठान दर्ता गराउन सेवाग्राहीहरु आउने गरेका छन ।

अहिलेसम्म उद्योग दर्ता गराउने आउनेहरुमा अधिकांश कृषि एवं पशुपालनसंग सम्बन्धित युवाहरु आउने गरेका छन् । साना तथा लघु उद्योग दर्ता गराउन आउनेहरु मध्य अधिकांश युवाहरु दुध, मासु, तरकारी, ग्रील उद्योग, खाद्यान्न, फलफुल, साईसमिल, फर्निचस, सिलाई कटाई, ब्युटिपार्लर लगायतका उद्योग एवं ब्यापरिक संस्था दर्ता गराउन अधिकांश आउने गरेको बताईएको छ । पछिल्ला वर्षहरुमा जस्तै यस वर्ष होटल रेस्टोरेन्ट दर्ता गर्नेको संख्या भने एकदमै घटेर गएको घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीको तथ्यांकले देखाएको छ ।

उद्योग र व्यपारिक संस्था दर्ता गर्नेहरुको संख्या यति धेरै बढनुको मुख्य कारण कोभिड १९ का कारण वैदेशिक रोजगारीमा गएका युवाहरु घर फर्की आफ्नै स्थानमा केही गरौं भन्ने धारणाले गर्दा यसरी उद्योग दर्ताको संख्या बढेको बताईएको भए पनि लुम्बिनी प्रदेश सरकारले लघुउद्यम कर्जा कोष संचालनमा ल्याउनु, प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालयले साना उद्यमीहरुका लागि ब्याज अनुदान कार्यक्रम संचालन गर्नु, बाणिज्य बैंकले कृषि कर्जामा बृद्धि गर्नु, महिला, दलित एवं अपांगता भएका ब्यावसायिहरुलाई सरकारले ५० प्रतिशत राजस्व रकममा दिएको छुट लगायतका कारणहरु पनि रहेको उद्योग बाणिज्य संघ नवलपरासीका महासचिव गिरीराज पाण्डेले बताए ।




सम्बन्धित
Loading...