नवलपुरमा आजबाट दोस्रो चरणको खोप
कावासोती । नवलपुर जिल्लामा दोस्रो चरणको खोप अन्तरगत ४४ हजार जनालाई कोभिड १९ को खोप लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका खोप फोलक पर्सन खरेलप्रसाद चौधरीका अनुसार नवलपुरमा दोस्रो चरणको खोप अन्तरगत ६५ बर्ष माथि जेष्ठनागरिक, शिक्षक, चालक, सहचालक र पहिलो चरणमा खोप लगाउन छुटेकाहरुलाई खोप लगाइने भएको हो ।
नवलपुरमा ५० हजार डोज खोप माग गरिए पनि ४४ हजार डोज खोप लगाउने लक्ष्य रहेको उनले बताए। दोस्रो चरणको खोप भने प्रत्येक पालिका पालिकामा लगाइने भएको छ।
दोस्रो चरणको खोपमा ५५ बर्ष माथिका जेष्ठ नागरिकलाई खोप लगाइने भनिएको भए पनि सरकारले त्यसलाई संशोद्धन गरेर ६५ बर्ष माथिकालाई मात्र दोस्रो चरणको खोपमा सहभागिता गराउने जनाएको छ।
नवलपुरमा पहिलो चरण अन्तरगत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी कर्मचारी, पत्रकार, जनप्रतिनिधि गरी ३ हजार १ सय ७० जनालाई कोभिड १९ को खोप लगाइएको थियो ।
