म्यानमारमा नरसंहार : नेपालमा उठेन आवाज
२० फागुन, काठमाडौं । म्यानमारको सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि सुरक्षाकर्मीले गोली चलाउँदा वुधबार एकै दिन ३८ जनाको मृत्यु भएको छ ।
फेब्रुअरी १ मा त्यहाँको सेनाले शासनसत्ता आफ्नो हातमा लिएपछि अहिलेसम्म ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले त्यहाँको सेनाले प्रर्दशनकारीमाथि गरेको दमनको विभत्स फोटो र भिडियो सार्वजनिक गरिरहेका छन् ।म्यानमारमा भएको नरसंहारको विश्वभर निन्दा भइरहेको छ तर नेपाल सरकार राजनीतिक दल, नागरिक समाज र मानव अधिकारवादीहरुको यस मामिलामा खासै सरोकार देखिएको छैन ।
म्यानमारमा सैनिक ‘कू’ भएकै दिन नेपाल सरकारले ‘म्यानमारमा प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया पुनर्स्थापित हुने विश्वास’ व्यक्त गर्दै एक विज्ञप्ति प्रकाशित गरेको थियो । साथै, नेपाल सरकारले सैन्य हिरासतमा लिइएका प्रजातन्त्रवादी नेता आङसाङ सुकीलगायतका नेतालाई तत्काल रिहा गर्न आग्रह गरेको थियो ।
प्रजातान्त्रिक मुलुकले म्यानमारमा भएको दमनको विरुद्धमा संयुक्त दबाव दिनुपर्ने बताइरहेका छन् । तर नेपालले एउटा विज्ञप्ति प्रकाशित गर्नेबाहेक कुनै प्रतिक्रिया जनाएको छैन, नत संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदलगायतका ठाउँमा आवाज उठाएको छ ।
राजनीतिशास्त्री हरि शर्मा म्यानमारको बारेमा नेपालका राजनीतिक दल, नागरिक समाज र मानव अधिकारवादीले आवाज नउठाउनुका पछाडि आन्तरिक र भूराजनीति दुवै कारण रहेको बताउँछन् ।
अनलाइनखबरसँग कुराकानी गर्दै शर्माले भने, ‘पहिलो त हामी अन्तर्मुखी भएका छौं, प्रधानमन्त्री ओलीको संसद भंग गर्ने कदमका कारण समाज पुरै विभाजित छ । हामीलाई हाम्रो बारेमा सोच्ने फुर्सद छैन, बाहिरको बारेमा के सोच्छौं जस्तो भइरहेको छ । त्यहाँ लाखौं मानिस सडकमा आएका छन्, दमन भएको छ तर कसैले पनि समाचार हेरेजस्तो लागेन।
