कतारमा कोरोना नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध उलङ्घन गर्ने ४९५ जना कारबाहीमा
दोहा- कोभिड–१९ सम्बन्धी सरकारले जारी गरेको सावधानीका उपायहरू उल्लंघन गर्ने ४९५ जनालाई कतार सरकारले कारबाही गरेको छ ।
कतारको आन्तरिक मन्त्रालयका अनुसार ४७१ जनालाई सार्वजनिक रूपमा मास्क नलगाएकोमा, ९ जनालाई गाडीमा अनुमति दिइएको भन्दा बढी मानिस राखेकोमा, ८ जनालाई एहतेराज एप प्रयोग नगरेकोमा र बाँकी ७ जनालाई सामाजिक दूरी कायम नगरेकोमा कारबाही गरिएको जनाएको छ ।
कतारको कानून १९९० को नम्बर १७ मा आधारित मन्त्रिपरिषद्को निर्णय अनुसार संक्रामक रोगहरू सम्बन्धी सक्षम अधिकारीहरूले धेरै व्यक्तिलाई कोभिड–१९ रोकथाम र सावधानीका उपायहरू उल्लंघन गरेको आरोपमा मुद्दा चलाउन सिफारिस गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
